श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वा बागमती पहिलो समूहको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि यही जेठ १७ गते होटेल सिटी गाउँमा सम्पन्न भयो ।
नेमकिपाका केद्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा विशेष अतिथि नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्रको विशेष आतिथ्यता तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजू, एक्सेस कार्यक्रमका सहजकर्ता प्रेमनाथ वाग्ले र नेफ्स्कूनका अधिकृत सोविता मैनाली मैनालीको आतिथ्यता रहेको थियो ।
कार्यशालामा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. , बनेपा, काभ्रेपलाञ्चोक, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ,बनेपा, काभ्रेपलाञ्चोक, एकिकृत फेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि , जिरी, दोलखा, जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि, मैनापोखरी , दोलखा, मन्थली बचत तथा ऋण सहकारी संस्था लि., रामेछाप, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,पनौती, काभ्रेपलाञ्चोक, सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुर, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि., चरिकोट, दोलखाका प्रतिनिधिहरु र श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरका पदाधिकारीहरु समेतको सहभागिता रहेको कार्यशालामा वक्ताहरुले सहकारी संस्था सदस्यहरुको जीवनसँग जोड्नु पर्नेमा जोड दिए ।
उक्त कार्यशालामा मन्तब्य व्यक्त गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजूले

एक आपसमा आफ्ना असल अभ्यास साटासाट गर्ने यो थलो धेरै राम्रो शिकाइ विधिको रुपमा रहेको विचार व्यक्त गर्दै ऋण संघको कार्य, बचत तथा ऋणको कार्य र विभिन्न प्रकृतिका सहकारी संस्थाको कार्य फरक- फरक हुनु पर्नेमा एकै थरीका कार्य बचत तथा ऋण कारोबार मात्र गरिरहेको र जस्रले गर्दा राज्य पक्षले सहकारीलाई हेर्ने तरिका फरक भएको बताउनुभयो । हाल भइरहेको सहकारी बचाउ अभियानबारे चर्चा गर्दै उहाँले सहकारी अभियानका व्यक्तिले कानुन संम्वत भए समर्थन गर्नुपर्ने र कानुनी विपरीत भए बचाउ अभियानको विरोध गरी राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्नुपर्छ भन्दै सिट्ठी जुलुस र कलिङ पिरेडको समेत विरोध गरेको जानकारी दिनुभयो । सदस्यको बचत दुरुप्रयोग गर्ने सहकारीकर्मीहरुको पछाडि सहकारी संघ, महासंघ लाग्नु हुदैन भनेर यस्तो कुराको विरोध गरेको जानकारी गराउदै उहाँले सुशासनमा बसेका सहकारी संस्थाले विरोध नगरे हामी र अन्यमा कुनै फरक नहुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले हालसालै प्रस्तुत बजेटबाट सहकारीलाई कर बृद्धि गरेको बारे चर्चा गर्दै सरकारले सहकारी ऐन र नियमावली पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

कार्यशालाको प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नु भएको षियो । सो अवसरमा उद्घाटन मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि गोसाईले

नेमकिपालाई राजनितिक बिचार, सिद्धान्तका साथ साथै सहकारी, स्वास्थ्य, शिक्षा र कृषिको बढी चिन्ता गर्ने पाटीको रुपमा अरु पार्टीले चिन्ने गरेको बताउदै यसपालीको सरकारको नीति तथा कार्यक्रम र बजेटमा सहकारीको बारेमा १२ बुँदे सुझाव पेश गरेको जानकारी दिनुभयो । शिक्षा स्वास्थ्य सम्वन्धीत सहकारीसंग सम्वन्धीत र समग्रमा देश प्रदेशसँग सम्बन्धित ५३ बुँदामा यी कार्यहरु गर्नुस् भनेर सरकारलाई औपचारिक रुपमा सुझाव दिएको बताउदै उहाँले ‘बर्तमान समयमा सहकारीमा आएको समस्यालाई बेलैमा समाधान नगरेमा श्रीलंकाको जस्तो दुरगति भोग्न र पाकिस्तानको जस्तो दुरावस्था भोग्न हामी बाध्य हुन्छौं ,त्यसैंले हामीले ठुलो दुर्घटना हुनबाट सहकारीलाई बचाऔं’, भन्नुभयो । मुलुकमा देखा परेको आर्थिक संकट र स्वदेशका कलकारखाना नष्ट गरेको बारे चर्चा गर्दै नेपालले आफै केही गर्नुपर्छ भनी छिमेकी तथा मित्र देशहरुको सहयोगवाट नेपालले विभिन्न कलकारखाना, इन्धन, सवारी साधन आदिको धेरै वर्ष पहिलै शुरुवात गरेको भएपनि हाल बन्द वा निजीकरणको नाममा ती सबै ध्वस्त पारेको भन्दै उक्त कार्यको विरोध गर्नुभयो । त्यस अवसरमा नागरिकता विधेयक र नक्कली भुटानी शरणार्थी प्रकरणको पनि विरोध गर्दै उहाँले चीनको विभिन्न उदाहरण दिएर हामीले पनि केही गर्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले ‘सहकारी न्यून आयस्तर भएका गरिबको हो । सहकारी ठूलाठालुले सञ्चालन गर्ने होइन । सहकारीले दुरगामी प्रभाव पर्ने कार्य गर्नुपर्छ । सहकारीलाई जीवनसँग जोडेन भने सहकारी पनि बैक नै हो’, भन्नुभयो । सहकारीलाई समुदायसँग जोड्नु पर्ने र सहकारी शिक्षा, स्वास्थ्य, कृषि, कला, सम्पदा, भाषा, संस्कृतिसँग जोड्नुपर्छ, होइन भने हामी जीवनसँग अलगिएको बुझिन्छ , त्यसैले सहकारी चिन्तनसँग जोडिनु पर्ने, विचारसँग जोड्नु पर्नेमा प्राथमिकता दिनु पर्नेमा जोड दिदै उहाँले संयुक्त राज्य अमेरिकाका बैंकहरु डुब्न थालेको प्रसङ्ग उल्लेख गरी पूँजीवादले हरेक १० बर्षमा एउटा एउटा आर्थिक संकट निम्त्याउछ भनी आज भन्दा १५० वर्ष अगाडि कार्ल मार्क्सले अनुमान गरेको र त्यसैको परिणाम भोग्दै रहेको संयुक्त राज्य अमेरिकाको बारेमा जानकारी दिनुभयो । उहाँले विश्वमा भइरहेका आर्थिक समस्याले हाल चीनलाई नछोएको र चीन विश्वका मानिसहरुलाई चाहिने सम्पूर्ण सामानको आदान प्रदान गर्ने अगुवाई भनी BRI ल्याएको थियो भने अहिले Global Development initiative program विश्व विकासको अगुवाई भनी अगाडि बढिरहेको छ साथै Global Security initiative विश्व सुरक्षा अगुवाई गर्ने अझ cem Global civilization initiative, विश्व सभ्य समाजको निमार्णको अगुवाईलाई अगाडि सारेको विचार समेत व्यक्त गर्नुभयो । उत्तर कोरियाका सहकारीले हरेक क्षेत्रमा उत्पादन गरि सहकारी सञ्चालनमा रहेको उदाहरण दिदै सहकारीलाई सदस्यमुखी भएर विकास, सुरक्षा, सभ्य समाज निर्माण , उत्पादन, स्वास्थ्य, शिक्षा र आदिमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यशालामा मन्तव्य व्यक्त गर्दै सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुरका अध्यक्ष रुद्रनारायण लाखाले बर्तमान समयमा भइरहेको सहकारीको विकृती र विसंगतिको रोकथामलाई विशेष प्राथमिकतामा राख्नु पर्न आवश्यकता औंल्याउनुभयो ।

आयोजक संस्था श्री बाराही बघत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विश्वराम त्वायनाले अध्यक्षता र सञ्चालक पुनेन्द्रप्रसाद कुसीले सञ्चालन गरेको उक्त कार्यशालामा सोही संस्थाका उपाध्यक्ष कृष्णभक्त बोडे र सचिव राधेश्याम सुवालले मन्तव्य व्यक्त गर्दै सहकारीको विकनस र प्रवर्द्धन हुनु आवश्यक रहेको बताउनुभयो ।






