पिपुल्स फ‍ोर्स नेपालको बागमती प्रदेशको अध्यक्षमा निलगगन

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले संसदवादी व्यवस्थाबाट समाजमा भइरहेको शोषण , उत्पीडन र बेथितिको अन्त सम्भव नभएकोले शोषित उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकार स्थापित गर्ने, स्वाधिन र समृद्ध देश निर्माणका लागि नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुको विकल्प नभएकोले त्यसका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले नयाँ शिराबाट क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको अगाडि बढाइरहेको विचार व्यक्त गर्नुभयो । शनिबार ललितपुरमा पिपुल्स फ‍ोर्स नेपालको बागमती प्रदेश स्तरीय भेलामा उद्घाटन मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष भण्डारीले प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणले देशलाई फाइदा हुनुको साटो भारत भ्रमणका क्रममा स्वयं प्रधानमन्त्री प्रचण्डका गतिविधि र अभिव्यक्तिले उनको असली चेहरा प्रष्टसँग देखिएको बताउनुभयो ।

भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै पिपुल्स फोर्स नेपालका संयोजक उत्सुक कट्टेलले राज्यले युवाहरुलाई स्वदेशमै रहेर काम गर्ने उपर्युक्त वातावरण बनाएर युवाहरुको श्रम र सीपलाई समृद्ध देश निर्माणमा लागि उपयोग गर्नुको साटो यो वा त्यो नाममा उनीहरुलाई पलायन हुने अवस्था निर्माण गरिरहेकोले पिपुल्स फोर्स नेपालले युवाहरुको हक , हित र अधिकार प्राप्ति, तथा राष्ट्रिय स्वाधिनताको रक्षा एवं महङ्गी, भ्रष्टाचार, कालाबजारी लगायत मुलुकमा व्याप्त बेथितिका विरुद्ध संघर्ष गर्दै आएको र त्यसलाई थप शसक्त बनाउदै अगाडि बढ्ने बताउनुभयो ।

पिपुल्स फोर्स नेपालका सह-संयोजक जीवन्द्र निलगगनले सञ्चालन , सोही फोर्सका ललितपुर जिल्ला समितिका संय‍ोजक आशिष शाहीले अध्यक्षता र ग‍ोविन्द खत्रीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त भेलाले जीवन्द्र निलगगनको अध्यक्षतामा १३ सदस्यीय पिपुल्स फोर्स नेपाल, बागमती प्रदेश समिति निर्मार्ण गरेको छ । सो समितिको उपाध्यक्षमा प्रेम तमाङ , सचिवमा गोविन्द खत्री तथा सदस्यमा दावा तामाङ, चन्द्र लिम्बू, अमन खडगी , मनश्याम खड्गी , दीपक भट्ट, अष्मी क्षेत्री , करिष्मा सिंह , मंगल पुन, धनबहादुर मगर र आयुष शाही हुनुहुन्छ । भेलामा उक्त समितिका उपाध्यक्ष प्रेम तमाङले सोही समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको तर्फबाट प्रतिबद्धता मनतब्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *