भूतपूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.नेपालका नि: बर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारी दर्शन, सिद्धान्त र मूल्यमा आधारित सदस्य केन्द्रित भइ सञ्चालन भएका सहकारी संस्थाहरु जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा अव्वल देखिएको बताउनुभएको छ । उहाँले बुधबार काठमाडौं महानगरपालिका-३२, सेतीओपीमार्ग कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अर्थतन्त्रमा आएको संकुचनसँगै केही सहकारीमा समस्या देखिएको विषयलाई लिएर सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्य भएकोले यो भ्रमलाई अभियानले चिर्नुपर्नेमा जोड दिनभयो । उहाँले आर्थिक संकुचनले सहकारीमा समेत प्रभाव पारेको समयमा समेत सुयोग्य साकोसले सदस्य केन्द्रित भई गरेको क्रियाकलापबाट आफू खुशी भएको विचार व्यक्त गर्नुभयो ।

सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.,की अध्यक्ष पमी न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा सोही संस्थाकी सल्लाहकार एवं नि:बर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सो संस्थाको स्थापनादेखि यहाँसम्म आईपुग्दाको अवस्थाको बारेमा चर्चा गर्दै सदस्यको हितमा केन्द्रित सेवा प्रवाहले सुयोग्य साकोसले सदैव आफ्ना शेयर सदस्यहरुको मन जित्न सफल रहेको बताउनुभयो ।
साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि., नेपालका भूतपूर्व उपाध्यक्ष विजयराज घिमिरे र काठमाडौं महानगरपालिका वडा नं.३२ का वडा सदस्य हिरादेवी पोखरेलले सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयमा गरेको प्रगति देख्दा खुशी लागेको भन्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाको आ.व.२०७९/०८०को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाकी अध्यक्ष न्यौपानेले सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधि र वित्तीय अवस्थाको बारेमा चर्चा गर्दै ‘स्थापनाकालदेखि नै सहकारी मूल्य, मान्यता, सिद्धान्त, वित्तीय अनुशासन एवं पारदर्शिताका साथ सदस्यको सेवामा समर्पित यस संंस्थाले आफ्नै भवनमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्दै आएको छ’, भन्नुभयो । सदस्य र समुदाय बीच छुट्टै पहिचान स्थापित गर्न सफल भएको यश संस्थाले अझ व्यवस्थित, सुशासित , पारदर्शी र उपलब्धीपूर्ण बनाउने उद्देश्यले ” उत्कृष्ट दिगो सेवाका लागि सुयोग्य” भन्ने परिकल्पनाका साथ अविचलित र सुरक्षित रुपमा निरन्तर अगाडि बढिरहेको जानकारी दिदै उहाँले पछिल्ला दिनमा अर्थतन्त्र संकुचनसँगै तरलताको अभाव भई केही संस्थाहरु समस्याउन्मुख हुँदा समेत यस संस्थाका तपाईं सदस्यहरुले संंस्थाप्रति गर्नु भएको विश्वास र मायाप्रति हार्दिक प्रशंसा गर्दछौँ’, भन्नुभयो ।
साधारण सभामा सोही संस्थाका लेेखा सुपरीवेक्षण समितिका संयजक प्रकाश रेग्मीले त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सदस्यहरुको सक्रिय सहभागिता रहेको साधारण सभाको बन्दसत्रले सदस्यहरु बीच आवश्यक छलफल पछि ती प्रतिवेदनहरुसँगै संस्था आ.व. २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन र आ.व. २०८०/०८१ को वार्षिक कार्यक्रम तथा वजेट सर्वसम्मत रुपमा पारित भयो । साधारण सभाले संस्थाको लाभांश कोषबाट सदस्यहरुलाई शेयर रकमको १० प्रतिशत लाभांश वितरण गर्ने तथा ऐन नियमावली अनुरुप कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम समेत वितरण गर्ने निर्णय गरेको जनाइएको छ । साधारण सभाले पारित गरेको प्रतिवेदनमा सो संस्थामा २०८० आषाढ मसान्तसम्म सदस्य संख्या १,४५५, चुक्ता शेयर पूँजी रु.२,६५,६४,०००, कुल निक्षेप रु.२२,५४,७५,९०८ र लगानीमा रहिरहेको ऋण रु.१८,६४,०७,७६९ रहेको उल्लेख छ ।
साधारण सभाको बन्दसत्रमा भाग लिंदै सदस्यद्वय लीलाकुमारी कट्टेल र ज्ञानु तामाङले संस्थाको सेवाबाट आफू सन्तुष्ट रहेको र अन्य वित्तीय संस्थाको खाता समेत बन्दै गरेर सुयोग्य साकोसमा नै सबै कारोबार गर्न थालेको बताउनुभयो भने सदस्य अइन्द्र लिम्बूले लाभांश वृद्धिका लागि सुझाव दिनुभएको थियो ।
साधारण सभामा उत्कृष्ट कारोबार गरेका उक्त संस्थाका सदस्यद्वय रङ्गध्वज अधिकारी र निर्मला माया तामाङलाई सम्मान गरी पुरस्कार प्रदान गरियो भने प्रमुख अतिथि बडाललाई मायाको चिनो प्रदान गरियो ।
प्रत्येक वर्षको आश्विन ३ गते संविधान दिवसका दिन आफ्नो वार्षिक साधारण सभा गर्ने सो संस्थाको निर्णयानुसार सम्पन्न भएको यो साधारण सभामा संस्थाका कुल सदस्य मध्पे ६४ प्रतिशत सदस्यको सहभागिता रहेको आयोजकको भनाइ छ ।







