जिल्ला सहकारी संघ लि., ललितपुरको ३२औँ वार्षिक साधारण सभा २०८० असोज ५ गते शुक्रबार महालक्ष्मीस्थानस्थित आफ्नै सहकारी भवनमा सम्पन्न भयो । सोही संघका अध्यक्ष केदार गोर्खालीको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री महर्जनले बागमती प्रदेशले सञ्चालन गर्नु पर्ने हाटबजार जिल्ला सहकारी संघ लि.,ललितपुरले सञ्चालन गरी स्थानीयले उत्पादन गरेका कृषिजन्य बस्तुको विक्री वितरणमा टेवा पुग्ने गरी कार्य गरेको देख्ता खुशी लागेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा बागमती प्रदेश सरकारको गतिविधि र योजनाको बारेमा चर्चा गर्दै उहाँले बागमती प्रदेश पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालयले बागमती प्रदेशका संकटग्रस्त सहकारी संघ/ संंस्थाहरुको व्यवस्थापन गर्ने कार्य गरिरहको बताउनुभयो ।


साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा ललितपुर महानगरपालिका वडानं.२१ का वडाध्यक्ष रविन्द्र महर्जनले कृषिजन्य बस्तुको उत्पादन र विक्री वितरणमूलक कार्यका लाागि जिल्ला सहकारी संघ लि.ललितपुरको कार्य प्रशंसनीय रहेको भन्दै कृषिजन्य बस्तुको उत्पादन र विक्री वितरणमूलक कार्यलाई प्रत्साहन र विकासका लागि जिल्ला सहकारी संघ लि., ललितपुरसँग ललितपुर महानगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष सुरेशबहादुर शाहीले जिल्ला सहकारी संघ लि.,ललितपुरले सञ्चालन गरेको हाटबजारलाई थप समृद्ध बनाउने कार्यमा ललितपुर महानगरपालिका वडा नं.१५ को साथ र सहयोग रहने प्रतबद्धता व्यक्त गर्नुभयो ।

साधारण सभामा शुभकामना मन्तव्प व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधव तिमिल्सिना , सोही संघका सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन र जिल्ला दुग्ध सहकारी संघ लि.,ललितपुरका अध्यक्ष कृष्ण सापकटाले राज्य र सहकारी अभियानले हातेमालो गरी सहकारीको बारेमा फैलाइएको भ्रमलाई चिरेर सहकारीको विकास र प्रवर्द्धनमूलक कार्य गर्नु पर्ने खाँचो औँल्याउनुभयो ।
साधारण सभामा उक्त संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संघका अध्यक्ष गोर्खालीले सो संघको गतिविधि र कार्य योजनाबारे प्रकाश पार्नुभयो । ललितपुरका स्थानीयबासीहरुले उत्पादन गरेका कृषिजन्य बस्तुको विक्री वितरण गर्न र उपभोक्ताहरुसम्म अर्गानिक कृषिजन्य बस्तु पु-याउन सकियोस् भनेर जिल्ला सहकारी संघ लि.,ललितपुरले हाटबजार सञ्चनलन गरेको बताउदै उहाँले ललितपुरको सहकारी अभियानलाई थप मजवुत बनाउन हाम्रो यो संघले प्रयत्न गर्दै जाने बताउनुभयो ।
साधारण सभामा त्यसै संघका कोषाध्यक्ष रुपेश तिमल्सिनाले संघको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक उपेन्द्र अवालेले संघको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सदस्यहरु बीच आवश्यक छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।

उक्त संघका उपाध्यक्ष रामशरण बस्नेतले स्वागत मन्तव्य

, महिला उपाध्यक्ष शशि खड्काले धन्यबाद ज्ञापन , सचिव अनिलवीर बज्राचार्यले सञ्चालन र व्यवस्थापक मनु जी.सी.ले संयोजन गर्नु भएको साधारण सभामा ललितपुरको लगनखेल- प्रयागपोखरीमा केन्द्रीय कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संंस्था लि.लाई उत्कृष्ट सहकारी पुरस्कार -२०८० प्रदान गरी सम्मान गरियो । यसैगरी साधारण सभामा नेफ्स्कूनको नेपाल ब्राण्ड (प्रोवेशन) प्राप्त गरेकोमा ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.,ठेचो तथा जिल्ला सहकारी संघ लि.,ललितपुरकी लेखापाल रमा महतलाई उत्कृष्ट कर्मचारीको रुपमा कदर-पत्र प्रदान गरि सम्मान गरियो ।






