बचत तथा ऋण सहकारी संंघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संंघ लि.को निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभा आजबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरी भोलि सो साधारण सभा समापन हुने छ ।


नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सञ्चालन भएको उक्त साधारण सभाको खुल्ला सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको चरणमा गइसकेकोले सहकारी अभियानका माग सम्बोधन हुने क्रममा रहेको र सहकारी क्षेत्रले पनि आफ्ना सदस्यहरुको विश्वास जगाइ राख्न धेरै काम गर्नु पर्ने खाँचो औँल्याउनुभयो ।
यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै संविधान सभा सदस्य तथा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले नेपालमा सहकारीमार्फत अल्पसंख्यक पिछडिएका समुदायहरुको आर्थिक तथा सामाजिक हितमा धेरै काम भएपनि सहकारीसँग बाझिएका कतिपय ऐनका कारण सहकारीको विकास र प्रवर्द्धनमा सोचेजति काम गर्न कठिनाइ भएको बताउनुभयो । उहाँले सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुरुप सहाकरी संघ/संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको हितको लागि काम गर्नुपर्नेमा त्यसो नगरेका कतिपय सहकारी संस्थाहरुमा देखिएको समस्याले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड ,नेपालका अध्यक्ष मिनराज कँडेलले बचत तथा ऋण सहकारी अभियानलाई नियमन गर्न साकोस ऐन बन्नु पर्ने आवश्यकता औंंल्याउनुभयो । सहकारीको शुद्धिकरण र सवलीकरण हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले सहकारी क्षेत्रले स्वनियमनको विषयलाई ध्यानमा राखेर काम गर्नु पर्ने र त्यसका लागि सहकारी विभाग सहकारी अभियानसँग मिलेर अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी भित्र सुशासन कायम गरी सदस्यहरुको बचत सुरक्षमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
साधारण सभामा नेकपा (एमाले)को सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल, नेकपा (माके)का सहकारी विभाग प्रमुख लीलामणि पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी अभियानले आफ्ना सदस्यहरुको हित हुने गरी कार्य गर्नु पर्नेमा जोड दिदै सहकारीमा सहज वातावरण बनाउन सहकारीका समस्याको गाठो फुकाउन राजनीतिक दलहरुले बहस पैैैरवी गरेको बताउनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष कृष्णबहादुर उप्रेतीले पनि सहकारीले सदस्यहरुको विश्वास जित्ने गरी कार्य गर्नु पर्ने र सहकारी अभियानलाई एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
संविधान सभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेेपालका बरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्डकी निबर्तमान सदस्य ओमदेवी मल्ल , सोही महासंघका उपाधयक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का भूतपूर्व अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, नेफस्कूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग , राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका सञ्चालक तथा नेफ्स्कून निबर्तमान अध्यक्ष डी.बी. बस्नेत , केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेम पाठक , जडिबुटी केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष इश्वरीप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको त्यस साधारण सभाको अध्यक्षता गर्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले गएको ४ वर्षमा नेफ्स्कूनले गरेका कार्यको बारेमा प्रकाश पार्नुभयो । नेफ्स्कूनले सञ्चालन गरिरहेको स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषको बारेमा चर्चा गर्दै उहाँले स्थिरीकरण कोषमा आवद्ध हुनेको संंख्या ११,५०,००० पुगेको बताउनुभयो । गएको यो ४ वर्षमा नेेफ्स्कूनको स्तरीकरण कार्यक्रमलाई कानूनी मान्यता प्रदान गरी साकोसहरुमा सुशासन कायम गर्ने गरी काम गरेको उहाँको भनाइ थियो । त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुद्धिकरण र सवलीकरण गरी साकोस अभियानलाई सुशासित र मर्यादित बनाउनु पर्ने बताउनुभयो । सहकारी अभियानको स्ट्रेन्थले संविधानमा सहकारीले स्थान पाएको भन्दै सहकारी अभियानको इतिहासमा साकोस अभियानको योगदान उच्च रहेको विचार व्यक्त गर्नुभयो । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले धन्यबाद ज्ञापन र महासचिव दामोदर अधिकारीले सञ्चालन गरेको सो साधारण सभाको खुल्ला-सत्रमा ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संंघ लि., काठमाडौं , ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संंस्था लि., ललितपुर , जनसेवा बचत तथा ऋण सहकारी संंस्था लि., कास्की र ग्रामीी बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रोवेशन ब्राण्ड प्रदान गरियो भने विभिन्न विधामा छनौट भएका बचत तथा ऋण सहकारी संंघ/संस्था लगायतलाई पुरस्कार प्रदान गरि सम्मान गरियो ।


(नेफ्स्कून नेपालको सहयोगमा ।)
नेफ्स्कूनको अध्य्यक्षमा पौड्याल र ढकाल भिड्दै , सञ्चालक समिति र लेा सुपरीवेक्षण समितिका २२ पदमा ६० जना उम्मेद्वार

नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका गरि २२ पदमा ६० जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार नेफ्स्कूनको सञ्चालक समितिको अध्यक्ष पदमा बर्तमान अध्यक्ष परितोष पौड्याल र बर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उम्मेद्वार बन्नुभएको छ भने बरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, देवकी नेपाल र दीपक पनेरू, उपाध्यक्ष (महिला)मा शान्ति अधिकारी र गोमा नेपाल , महासचिवमा केशवप्रसाद पोखरेल, सन्दीप सापकोटा र घनश्याम अधिकारी , कोषाध्यक्षमा जिवसराज खड्का र दीपक थापा,सञ्चालक महिलामा राधा कडरिया , सीता ढकाल पौडेल , मन्दरा मिश्र , कमलादेवी गिरी , विद्या कोइराला र अमरावती बलामी (महर्जन), कोशी प्रदेश सञ्चालकमा कोपिला आचार्य , लक्ष्मी सापकोटा र ताराप्रसाद भट्टराई , मधेश प्रदेश सञ्चालकमा गंगाकुमारी कलम्पाकी र शोभाकुमारी राउत , बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी र शम्भुप्रसाद घिमिरे , गण्डकी प्रदेश सञ्चालकमा गोपालप्रसाद गौतम, रविन्द्रराज पौडेल , शिव अधिकारी र रामजी कँडेल , लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल र नवराज न्यौपाने , कर्णाली प्रदेश सञ्चालकमा वीरेन्द्रकुमार शाक्य , महेन्द्रप्रसाद शर्मा र वीरबहादुर राउत भोटे , सुदूर पश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही र इश्वरी जोशी , सञ्चालक खुल्लामा मनमोहन विष्ट , नवराज गौतम, नवराज अर्याल, देवकुमार श्रेष्ठ र योगेश ढकाल , कृष्णप्रसाद सुवाल, किरण बर्तौला, हरेराम प्रसाद , सुशिल कुमार , नानीकाजी शाक्य , शालिकराम ढकाल, विकास बादे, रामशरण घिमिरे , सादुराम लम्साल , विनोद नेपाल र रामभक्त यादव उम्मेद्वार बन्नुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा माधवप्रसाद जोशी र इन्द्रराज ज्योति पौडेल , लेखा सुपरीवेक्षण समिति सदस्य खुल्लामा वीरेन्द्र यादव , गोविन्द सुवेदी, सतेन्द्रप्रसाद ठाकुर र हेमराज विष्ट र लेेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी सञ्जेल र सुभद्रा नेपालको उम्मेद्वारी परेको छ ।





