भक्तपुरमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० को प्रतिवेदन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उप-समितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम अजिमा पार्टी महल, बाराहीस्थानमा २०८० पुस १५ गते सम्पन्न भयो । कार्यक्रमका मन्तव्य व्यक्त गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन सहकारी अभियानको साझा सम्पत्ति भएकोले यसमा साझा धारणा बनाउने काम भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनले पनि यो प्रतिवेदनका बारेमा साझा धारणा निर्माण गरी यसलाई कार्यान्वयनमा लान पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भक्तपुर जिल्लामा तुलनात्मक रुपमा सहकारीमा कममात्र समस्या देखिनुमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भूमिका महत्वपुर्ण रहेको उहाँले बताउनुभयो । सहकारी सुशासन र सुद्धिकरणमा सम्झौता गर्न नसक्ने बताउदै उहाँले सहकारी अभियानका मुद्दाहरु प्राथमिकताका आधारमा समाधान गर्दै लाने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले

पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्रय र आन्तरिक कारणले संकटहरु देखा परेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा देखा परेको सैद्धान्तिक विचलनका कारणले यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता महशुस गरी नेपाल सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल ,२०८० गठन गरेको विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले उक्त प्रतिवेदनमा उल्लेखित सहकारीका तल्काल, अल्पकालीन र दीर्घकालीन सुधार, कार्यगत सुधार, जनशक्ति सुधार, कार्यदलको निष्कर्ष लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै सोही संघका उपाध्यक्ष एवं सहकारी समन्वय उप-समितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी लगायत समुदायका सहकारीको विकास र प्रवर्द्धनका लागि सहकारी ऐन,२०७४ परिमार्जनका लागि सुझाव समेत संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उक्त संघका सहकारी समन्वय उप-समितिका सदस्य बलराम प्रजापतिले नेपालको संविधान, २०७२ ले समाजबाद उन्मुख अर्थतन्त्र विकासको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिए पनि राज्यले सहकारीका समस्याहरु समयमै प्राथमिकतामा राखी सम्बोधन गर्न नसक्दा सहकारीमा समस्या देखापरेको बताउनुभयो । उहाँले सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रित, स्वायत्त र स्वनियम संगठनको रुपमा सहकारी विकास गर्न सहकारी ऐन ,कानुन समुदायमा आधारित सहकारी मैत्री हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो अन्तर्क्रिया कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बधाइ ज्ञापन गरि सम्मान गरिएको थियो । यसैगरी सो कार्यक्रममा प्रस्तुत प्रस्तुतीमा अन्तरक्रिया र सहकारी ऐन, २०७४ परिमार्जनका लागि सुझाव संकलन समेत गरेको थियो ।

कार्यक्रमको सञ्चालन गर्दै सो संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकरीको पाँचौँ सिद्धान्त शिक्षा, तालिम र सूचना बमोमिज सो कार्यदलको प्रतिवेदन सदस्य संस्थालाई सुसूचित गराएको बताउनुभयो । उहाँले सहकारी सुधारको लागि दिएका सहकारी अभियान सुद्धिकरणका सुझावहरु पनि कार्यान्वयन गर्दै लानुपर्ने विचार व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा त्यस संघमा आबद्ध सदस्य संस्थाका सञ्चालक समितिका पदाधिकारी र सदस्यहरु र व्यवस्थापक सहित कर्मचारी गरी १४९ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *