फटाहाहरुले खरानीले आगो छ‍ोपे जसरी छोपेका पुष्पलालको विचार जनसमक्ष पु-याउनुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको फोटो बोक्ने तर पुष्पलालका विचारलाई आत्मसाथ गर्नुको साटो भ्रष्टिकरण गरेर पुष्पलालको अपमान गर्ने कार्य भइरहेको ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल विचार प्रवर्द्धन केन्द्रले काठमाडौं र चितवनमा २०८१ श्रावण ७ गते आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । सोही सन्दर्भमा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र चितवनको आयोजनामा चितवनमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘नेपाल कम्युनिष्ट पार्टीको स्थापना र नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालका विचार र नेपालको कम्युनिष्ट आन्द‍‍ोलनमा पुष्पलालको य‍ोगदान तथा नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको क्रान्तिकारी विचार र सिद्धान्त जनसमक्ष पु-याउने उद्देश्यले स्थापना भएको पुष्पलाल विचार प्रवर्द्धन केन्द्रले उद्देश्य अनुरुपको कार्य गर्न सकोस्’, भन्नुभयो । उहाँले आजको हाम्रो नेपाल कम्युनिष्ट पार्टी क.पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीकै निरन्तरताको रुपमा अगाडि बढिरहेको बताउदै छरिएर रहेका सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकजुट भएर नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने दिशामा अगाडि बढन सकेमा मात्रै पुष्पलाल स्मृति दिवस मनाउनुको सार्थकता हुने विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा सहभागीहरु बीच नेपालको कम्युनिष्ट आन्दोलनको अबको कार्यभारको बारेेमा अन्तर्क्रिया भएको थियो ।

यता ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल विचार प्रवर्द्धन केन्द्रको २०८१ श्रावण ७ गते काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारीले नेकपाका संस्थापक महासचिव पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्न अगुवाई मात्रै नगरी नेपालको कम्युुुनिप्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपाली श्रमजीवी जनताको ईतिहास समेत लेखेको बताउनुभयो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल सांस्कृतिक युनियनका संयोजक राजेश बान्तवाले नेकपाका संस्थापक महासचिव पुष्पलालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्ने क्रान्तिकारी विचार र सिद्धान्त अगाडि सारेको भएपनि एमाले, माओवादी लगायतले त्यसलाई बेवास्ता गर्दा मुलुक र नेपालको कम्युनिष्ट आन्दोलनमा बेथिति आएको बताउनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै पुष्पलाल विचार प्रवर्द्धन केन्द्रका का.बा.अध्यक्ष डा.भगवानचन्द्र ज्ञवालीले खरानीले आगो छोपिए जसरी फटाहाहरुले नेकपाका संस्थापक महासचिव पुष्पलालका विचारहरु माथि भ्रम फैलाएकोले त्यसलाई चिरेर क.पुष्पलालका सही विचारहरु जनता समक्ष लानुपर्ने बताउनुभयो ।

शहीदहरुप्रति १ मिनेट मौनधारण गरेर र नेकपाका संस्थापक महासचिव पुष्पलालको तस्विरमा पुष्पार्पण गरि शुरु भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले क. पुष्पलालले अन्वेषण गरेर वैज्ञानिक विचार अगाडि सारेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले उत्पीडित मजदुर र किसानको मुक्तिका लागि क.पुष्पलालको विचार ठीक ढंगबाट आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो भने अखिल नेपाल पेसागत तथा बुद्धिजीवी युनियनका सदस्य श्रीकान्त पण्डितले नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानको सम्मान गर्दा एकदेव आले, चित्रबहादुर गुरुङ लगायतका उहाँका सहकर्मी कारेडहरुको योगदानलाई पनि सम्मान गर्नु पर्ने बताउनुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका कृेन्द्रीय सदस्य तथा पिपुल्स फोर्सका संयोजक भीम न्यौपाने, सो पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फोर्सका सह-संयोजक उत्सुक कट्टेल र सोही पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्सका सचिवालय सदस्य जीवन्द्र निल गगनले क.पुष्पलालले अगाडि सारेका विचारर सिद्धान्त अनुरुप उत्पीडित वर्ग र समुदायहरु एकजुट भएर शोषण र उत्पीडनका विरुद्ध संघर्षमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *