कोशी प्रदेशमा नेपाली काँग्रेस र गण्डकी प्रदेशमा नेपाली काँग्रेसलाई सरकार जान सकस भएको छ । नेपाली काँग्रेसले कोशी प्रदेशमा ५ वटा मन्त्रालयमा दाबी गरेको तर त्यसमा कोशी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा (एमाले) सहमत नहुँदा सरकारमा सहभागी हुने तरखरमा रहेको नेपाली काँग्रेस अन्यौलमा परेको छ ।
यता मन्त्रीद्वय फणिन्द्र दवकोटा र राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीबाट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दु:खको बेला साथ दिएकाले नहटाउने भनेर अडान लिएपछि सरकारमा जान खुट्टा उचालेर बसेको नेकपा (एमाले)लाई नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार जस्तो भएको देखिएको छ । गण्डकी प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेक छ । यस अघि सो प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेश सभाका स्वतन्त्र सदस्य राजिव गुरुङ र नेसपाका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले विश्वासको मत दिएर बचाएका थिए, जसका कारण उनीहरु दुबै जना मन्त्री छन् । नेकपा (एमाले)ले उनीहरु दुबैलाई मन्त्रीबाट हटाएर नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको आपसी सहमतीमा मन्त्रीपरिषद बिस्तार गर्नु पर्नेमा जोड लगाइरहेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेश बाहेकका ५ प्रदेशका सरकारमा भने यस्तो बिबाद छैन ।





