शिक्षा र रोजगारी बीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न, सीटीईभीटीको पाठ्यक्रम पुनर्संरचना गर्नुपर्छ : मन्त्री भट्टराई

नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारी बीचको अन्तर्सम्बन्ध विषयक राष्ट्रिय सेमिनार २०८१ भाद्र १३ गते होटेल हिमालय, ललितपुरमा सम्पन्न भयो । नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बीचको सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली युवाहरुलाई रोजगारमूलक सीप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा केन्तित थियो ।

नेपालमा प्राविधिक र व्यवसायिक शिक्षा र तालिम (टीभेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन गर्ने, निजी क्षेत्रको सहभागिता अभिबृधदी गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टीभेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताउनुभयो । २०४५ सालमा स्थापना भएको सीटीइभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको बताउनुभयो । कम्तिमा पनि सीटीइभीटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिष्म ई.टी.एच. ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघीय संरचनामा टीभेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताउनुभयो । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताउनुभयो । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउनुहुँदै उहाँले दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण (Dual VET Apprenticeship) कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
स्वीस दुतावासका डेपुटी हेड अफ मिसन÷चार्जे डी’अफेयर्स माथियास मेईरले स्वीटजरल्याण्डले ड्वेलभेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समयदेखि प्रवर्द्धन गर्दै आइरहेको बताउनुभयो ।
यसैगरी सी.टी.ई.भी.टी.का सदस्य सचिव महेश भट्टराई, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सीपयुक्त जनशक्ति बनाउन नेपाली युवाहरुलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सेमिनारमा दुई वटा प्राविधिक सत्रहरु राखिएको थियो । पहिलो सत्रमा टीभेट कार्यक्रमहरुमा संलग्नताको लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरुको खोजीका सन्दर्भमा छलफल गरिएको थियो । उक्त सत्रमा नेपालमा ड्वेलभेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरुलाई औद्योगिक प्रशिक्षणका फाइदाहरुका बारेमा गरिएको अध्ययनका नतिजाहरु र टी.ई.भी.टी.मा नीतिगत अभाव सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यी विषयहरुमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरुबीच छलफल गरिएको थियो ।
दोस्रो सत्रमा टीभेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिका अन्तर्गत विद्यमान अभ्यासहरुका साथै सुधारका आवश्यकताहरुको बारेमा छलफल गरिएको थियो । नेपालमा टीभेट स्कुलहरुको अवस्था र उद्योगहरुले नेतृत्व गरेको क्षेत्रगत सीप समितिहरुले रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुति पछि क्षेत्रगत सीप समिति, सी.टी.ई.भी.टी. र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरु सम्मिलित प्यानलमा छलफल भयो ।
कार्यक्रममा होटेल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रिडिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी प्रशिक्षार्थीहरुले सवारी साधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए ।
कार्यक्रममा पञ्चकन्या ग्रुप प्रा.लि., नेपाल इकरात इञ्जिनियरिङ्ग प्रा.लि., अरिहान्त मल्टी फाइबर्स लि., सी.जी. मोटो कर्पोरेसन, र एयरपोर्ट होटेल अप्रेण्टिसशिप च्याम्पियन अवार्डबाट सम्मानित भए । औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा सम्लग्न भइ बिपन्न वर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको लागि स्थान दिई कार्यक्रमलाई सक्रिय रुपमा सहयोग गर्ने उद्योगहरुलाई सम्मान स्वरूप पुरस्कृत गरिएको हो । यसका साथै सीप प्रतिस्पर्धाका बिजयी प्रशिक्षार्थीहरु बसन्तकुमार चौधारी, रबिना राई र रश्मि मुखियालाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *