कास्की जिल्ला प्रहरी कार्यालय, पोखराको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्वन भएको छ । सो कुरा संघीय संसद प्रतिनिधि सभाले आज जारी गरेको सूचनापत्रमा उल्लेख छ । आजै रास्वपाका नेताहरुले आफ्ना सभापति लामिछानेको सांसद पद निलम्वन नगर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेेका थिए तर चितवन क्षेत्र नं.२ बाट भारी मतले निर्वाचित रास्वपाका सांसद लामिछानेको सांसद पद निलम्वन हुनबाट जोगिएन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकीलको कार्यालय कास्कीले रास्वापाका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणको मुद्धा हिजो कास्की जिल्ला अदालतमा दर्ता गरेको थियो ।
अर्षाल कार्यबाहक सभापति
रास्वपाले उप-सभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति चयन गरेको छ । सभापति रवि लामिछानेको सुझाव अनुसार आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यबाहक सभापति चयन गरेको बताइएको छ । उक्त पार्टीका अर्का उप-सभापति डा.स्वर्णिम वाग्ले उमेरले जेष्ठ भएपनि सचिवालयको बैठकले अर्याललाई कार्यबाहक सभापति बनाएको र उप-सभापति अर्यालकै अध्यक्षतामा यस अघि सो पार्टीका केन्द्रीय समितिको बैठक बसेको नेताहरुको भनाई छ ।





