भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा बस्तु तथा सेवा व्यवस्थापन तालिम २०८१ पुस १६ गते मंगलबार सिटी गाउँ होटल, भक्तपुरमा सम्पन्न भयो ।

सोही अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारीमा सदस्य केन्द्रित वित्तीय सेवा निर्माण गर्नुपर्ने बताउनुभयो । केही सहकारीमा देखापरेको समस्या समाधानका लागि हाल जारी सहकारी ऐन, २०७४ संशोधनका लागि बनेको अध्यादेशले सम्पुर्ण सहकारीलाई समस्या पारेको उहाँले जिकिर गर्नुभयो । उहाँले नेपालको संविधान विपरित मौलिक हक हनन हुने गरी वित्तीय सहकारीलाई कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचत तथा ऋणको सीमा तोक्नु गलत भएको बताउनुभयो ।
सोही अवसरमा उक्त संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा सदस्य केन्द्रित तथा प्रभावकारी वित्तीय सेवा निर्माणमा टेवा पु-याउन यो तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले जारी अध्यादेशका अव्यवहारिक व्यवस्थाले सहकारीमा थप अन्यौलको बातावरण सिर्जना गरेको बताउनुभयो ।
त्यसै अवसरमा नेफ्स्कूनका तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले तालिममा सिकेका कुराहरु कम्तीमा प्रतिवेदन बनाई संस्थाको सञ्चालक समितिमा पेश गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी बैंक भन्दा राम्रो बनाउन गर्भदेखि स्वर्गसम्मका प्रभावकारी वित्तीय सेवाहरु सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो ।
यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ली.का प्रमुख कार्यकारी अधिकृत

बालकृष्ण धोजूले सहकारी तालिम तथा शिक्षामा एकरुपता र प्रभावकारी बनाउन नेफ्स्कून बचत संघ साझेदारी मार्फत तालिम कार्यक्रम गरेको बताउनुभयो । उहाँले कम सहकारी संख्यामा समस्या देखिएतापनि अपचलन भएको रकमको आधारमा ठूलो समस्या देखिएकोले सरकारले बाध्य भएर सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी गरेको बताउनुभयो ।
तालिममा सहभागीहरुले सदस्य केन्द्रित वित्तीय सेवाको निर्माण गर्न तालिमले टेवा पु-याएको बताउनुभयो । तामिलमा सो संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे २० जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन अन्तरलगानी तथा वित्तीय सेवा प्रर्वद्धन उप-समितिका सदस्य राजकुमार लघुले गर्नुभएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो ।






