श्री बाराही साकोसको अर्ध-वार्षिक समीक्षा गोष्ठी सम्पन्न


भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को अर्ध-वार्षिक समीक्षा गोष्ठी एवं सञ्चालकहरुको जिम्मेवारीबोध तथ भूमिका विषयक कार्यक्रम सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा २०८१ माघ १९ गते शनिबार होटल सिटीगाउँ भक्तपुरमा सम्पन्न भयो । उक्त संस्थाको सञ्चालक समितिको आयोजनामा भएको सो गोष्ठी कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष सुवालले कार्यक्रम माथि प्रकाश पार्नुका साथै त्यस संस्थाको वित्तीय अवस्था जानकारी गर्ने गराउने लगायत सञ्चालकहरुको जिम्मेवारी पनि बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले सहकारी सम्बन्धी अध्यादेश एवं मापदण्ड र त्यसबाट बचत तथा ऋण कारोबार गर्ने सहकारी संघ/संस्थामा पर्ने असरबारे समेत प्रकाश पार्नुभयो ।

उक्त संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले संसार बदल्नुछ भने पहिला आफूलाई बदल्नुपर्छ भन्ने भावनालाई उजागर गर्दै कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । संस्थाका सचिव विष्णुप्रसाद सुवाललले सञ्चालन गर्नु भएको कार्यक्रममा त्यसै संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको वित्तीय विवरणको प्रगति समीक्षा प्रस्तुतीकरण गर्नुका साथ साथै नेपाल सरकारले हालै जारी गरेको सहकारी सम्बन्धी अध्यादेश र राष्ट्र बैंकवाट जारी निर्देशन तथा मापदण्डमा उल्लेख भएको ९ वटै परिच्छेदको खण्डन गर्दै यो अध्यादेश र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र मापदण्डले संस्थाको लागि के के प्रभाव तथा असर पर्ने र के के कठिनाई तथा अवसरहरु आउन सक्छ भन्ने कुराको विस्तृत जाकारी गराउनुभएको थियो । देशमा भए गरेका नीति नियमहरुको अद्यावधिक गर्ने गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरेको उहाँको भनाई थियो ।


कार्यक्रममा प्रशिक्षण दिदै सहजकर्ता तथा नेफ्स्कूनका पूर्व कर्मचारी बाबुराम न्यौपानेले यस्तो अवस्थामा संस्थाका लेखा सुपरीवेक्षण समितिले ट्राफिकको रुपमा भुमिका निभाउने, सञ्चालकहरुले हेडलाईटको रुपमा कार्य गरि दिशानिर्देश गर्ने र उप-समितिहरुले साइडलाइटको रुपमा कार्य गरि लाईट बाल्दै व्यवस्थापन र सञ्चालकहरुलाई सहयोग पु-याई व्यवस्थापनलाई संस्था हाक्न मद्दत गर्नु पर्ने खाँचो औंल्याउनुभएको थियो । संस्थाका सञ्चालकहरुको जिम्मेवारी र भूमिकाबारेमा प्रकाश पार्दै उहाँले ‘संस्थाका सम्पूर्ण सञ्चालकहरुको बोली र बुझाई एउटै हुनुपर्दछ’, भन्नुभएको थियो ।
समीक्षा प्रस्तुतीको क्रममा सो संस्थाका बरिष्ठ ऋण सहायक राजमती सुवाल, बरिष्ठ प्रशासन सहायक कल्पना दुवाल, सञ्चालक पदाधिकारीहरु रत्नकेशरी सुखुपायो, विश्वराम त्वायना, पुनेन्द्रप्रसाद कुसी, कृष्ण प्रजापति, सृजन ग्वाछा, चञ्चल कर्मचार्य, रवि ध्वजू, रचना खायमली लगायतले आ-आफ्नो प्रस्तुती गर्नु भएको थियो ।

त्यस अवसरमा अध्यक्ष सुवालले कार्यक्रमका प्रशिक्षक न्यौपानेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *