भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा “कार्यविधि निर्माण” तालिम २०८१ चैत्र ८ गते शुक्रबार सिद्धि गणेश तालिम हल, भक्तपुरमा सम्पन्न भयो ।
सो तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्द भक्तपुर जिल्ला बचत तथा ऋण संघ लि.का अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । नीति र विधि विना व्यक्तिगत निर्णयबाट सञ्चालित सहकारी सहकारी नभई एक्लौटी व्यवसाय जस्तो हुन्छ । यस्ता सहकारी सस्थाहरुमा समस्या देखिएको उहाँले बताउनुभयो । जारी अध्यादेशले नेपालभरीमा कुनै एक प्रकृतिमा सदस्य भएपछि अर्को सोही प्रकृतिको सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उहाँको भनाइ थियो । उहाँले व्यक्तिगत बचतको सीमालाई संस्थागत पूँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत संकलन गर्न पाउने गरी प्रतिस्थापन विद्येयक पारित गरेको जानकारी दिनुभयो ।
यसैगरी सोही संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था सञ्चालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानून अनुसार अद्यावधि गर्नुपर्ने बताउनुभयो । कार्यविधि काम गर्ने विधि भएकोले उक्त विधिलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयनुकाल परिमार्जनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएतापनि कार्यविधिले कानून सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले कार्यविधि निमार्णले काम गर्न सहजता समेत हुने बताउनुभयो ।
तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा उक्त संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रमको सञ्चालन सो संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । उक अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।






