नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्याण्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधबार थाइल्याण्डको बैंककमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र थाई उद्योग महासंघका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गर्नुभयो ।

लगानी तथा व्यापार प्रबर्द्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी र नीतिगत विषयमा जानकारी आदान प्रदान लगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो ।
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले गर्नुभयो । लगानी प्रबर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।
नेपाल उद्योग परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ ।
दुई संस्थाबीच भएको समझदारी-पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।





