काठमाडौं महानगरपालिका-३०,डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक २२ गते काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको सभाहलमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि मल्ला र विशेष अतिथि स्थापितले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । उक्त अवसरमा विशेष अतिथि स्थापितले सहकारीका समस्या र समाधानको उपाय सहितको विषयमा प्रस्तुती गर्दै ‘वचन साकोसमा जस्तो सुशासन अरुमा छैन’, भन्नुभयो ।
साधारण सभामा उक्त संस्थाको आ.व.२०८१/२०८२ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष खनालले वचन बचत तथा ऋण सहकारी संस्था लि अन्तर्राष्ट्रिय स्तरको सहकारी सेमिनार गर्न सक्षम रहेको र निकट भविष्यमा यस संस्थाको अन्तर्राष्ट्रिय स्तरको सहकारी सेमिनार गर्ने योजना रहेको बताउनुभयो । उहाँले ‘शेयर सदस्य ज्यूहरु , कर्मचारी मित्रहरु लगायतकोअटुट साथ र सहयोगले निरन्तर प्रगतिपथमा अघि बढिरहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्दछु’, भन्नुभयो । उहाँले सहकारी सिद्धान्त, मूल्य, मान्यता , कार्यशैली नेपालको प्रचलित सहकारी ऐन-२०७४, नियमावली-२०७५ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका विभिन्न निर्देशन अनुसार हाम्रो यो संस्था रहेको बताउदै यस संस्थाले खुत्रुके खल्ती बचत कार्यक्रम सञ्चालन गर्न लागेको विचार व्यक्त गर्नुभयो ।


साधारण सभामा उक्त संंस्थाका सचिव मनोहरि तिवारीले सोही संंस्थाको आ.व.२०८१/२०८२ को कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस संस्थाले मोवाइल बैंकिङ सेवाको परीक्षण गरिसकेकोले अब चाडै नै मोवाइल बैंकिङ सेवा सञ्चालन शुरु गर्ने बताउनुभयो ।
सोही संस्थाकी सञ्चालक शान्ता गौतमले धन्यबाद ज्ञापन र कानुनी सल्लाहकार अधिवक्ता रामदत्त ओझाले सञ्चालन गर्नुभएको साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष सुरेश धिमालले संस्थाको आ.व.२०८१/२०८२ को कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विमोल भेटवालले संस्थाको आ.व.२०८१/२०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु सहित संस्थाको भावी कार्यक्रम शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट पारित गरियो ।

साधरण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातले सो संस्थाको गतिविधि, वित्तीय अवस्था र संस्थाले सञ्चालन गरेको वचन फेलोसोफी कार्यक्रमका विषयमा प्रकाश पार्नुभयो ।
सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको साधारण सभामा त्यसै संस्थाका शेयर सदस्य उत्तमलाल अर्यालले हास्यव्ङ्य कार्यक्रम प्रस्तुती गर्नुभयो भने हेम्स स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेेका थिए । त्यस अवसरमा उनीहरुलाई प्रशंसा-पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।
साधारण सभामा त्यसै संस्थाको वचन फेलोसोफी कार्यक्रममा सहभागी भई स्नातकोत्तर तह उत्तीर्ण गरेकी ललितपुरकी स्थानीयबासी सविना श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लाका सहकारी संघ संस्थाहरुका कर्मचारीहरुको बारेमा अनुसन्धान गरि तयार पाारेको थेसिसको प्रस्तुती गर्नुभयो । विवाह नगरेका र छोटो अवधि सहकारी संघ संस्थामा काम गरेका सहकारीका कर्मचारीको तुलनामा विवाह गरेका र लामो समय सहकारीमा काम गरेका कर्मचारीहरुमा आफ्नो सहकारी संघ संस्थाप्रति बढी लगाव र जिम्मेवारीपन भएको आफूले पाएको उहाँको भनाई थियो ।





