नेकपा (एमाले)ले निश्कासन गरेपछि मातृभूमि जागरण अभियानको संयोजन गर्दै आएका डा.भीम रावल र नेकपा (श्रमजीवी)का महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज आयजित कार्यक्रममा उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल र नेताहरु झलनाथ खनाल, बामदेब गौतम, नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनु अघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल, सह-संयोजक नेपाल र मातृभूमि जागरण अभियाजका संयोजक डा. रावलले ६ महिनाभित्र नेपाली कम्युनिष्ट पार्टीको एकता महाधिवेशन गर्ने लगायतका ७ बुँदे सहमती-पत्रमा हस्ताक्षर गरेको बताइएको छ । त्यस अवसरमा संयोजक दाहालले केपी ओली बाहेक एमालेका सबै जना नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् बताए ।
नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका डा.रावलको बरियता सोही पार्टीका संयोजक पुष्पकमल दाहाल, सह-संयोजोक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, बामदेब गौतम र नारायणकाजी श्रेष्ठपछि रहने जनाइएको छ ।
यता नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल, सह-संयोजक नेपाल लगायतले स्वागत गरेको बताइएको छ । सो पार्टीमा समाहित हुँदै हाहले केपी ओली कहिल्यै नसुध्रिने बताएको श्रोतले जनाएको छ ।
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश सभा दलका नेता भइसकेका बाजुराका शाह सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला र आर्थिक मामिला मन्त्री भइसकेका थिए ।
यस अघि यही कार्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा नेकपा (माके), नेकपा (एस), नेकपा (माओवादी समाजवादी), सहित ९ वटा पार्टी तथा समूहले पार्टी एकीकरणको घोषणा गरि एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट उनीहरुले नै सो पार्टी एकीकरण भएको जानकारी सहित दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।





