काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने खाँचो औंल्याउनु हुदै उहाँले नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा महिला उद्यमी महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले महिला उद्यमी महासंघले नेपाल उद्योग परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।






