आज नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको २४औं स्मृति दिवस मनाइदै

काठमाडौं / नेपाल काँग्रेसका सर्वोच्च नेता तथा २०४६ सालको जनान्दोलनका कमाण्डर गणेशमान सिंहको निधन भएको आज २४ बर्ष पूरा भएको छ । वि.सं. १९७२ कार्तिक २४ गते काठमाडौं क्षेत्रपाटीस्थित चाक्साबारीमा जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । उनको पार्थिव शरीर राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको थियो ।

नेपालको सबैभन्दा पुरानो दल प्रजापरिषदमा संगठित भएका सिंहलाई राणा सरकारले कठोर काराबासको सजाय दिएको थियो । राष्ट्रिय काँग्रेस हुदै नेपाली काँग्रेसको नेता बनेका सिंहले वि.सं.२००७ सालको जनक्रान्तिमा महत्वपूर्ण निर्वाह गरेका थिए । सोही जनान्दोलनका कारण भारत सरकारको संयोजनमा राणा , राजा र नेपाली काँग्रेस बीचको सम्झौतापछि बनेको मोहन शमशेर नेतृत्वको सरकार र वि.सं.२०१५ सालको आमनिर्वाचनपछि बनेको वी.पी. कोइराला नेतृत्वको नेपाली काँग्रेसको सरकारमा मन्त्री बनेका सिंहले वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कू गरेपछि ८ वर्षसम्म सुन्दरीजल जेलमा अरु सहकर्मी नेताहरुका साथ बन्दी जीवन जीवन बिताएका थिए । ८ वर्षपछि सुन्दरीजल जेलबाट वी.पी. कोइरालासँगै छुटे । त्यसपछि वी.पी. कोइरालाका साथ उनी वि.सं.२०३३ पुस १६ गतेसम्म भारत प्रवासमा रहे । वि.सं.२०३३ पुस १६ गते राजाको गलासँग आफ्नो गला जोडिएको छ भन्दै राष्ट्रिय मेलमिलापको नीति अनुरुप वी.पी. कोइराला स्वदेश फर्किदा नेता सिंह पनिसँगै स्वदेश फर्किएका थिए । त्यसपछि वि.सं. २०४६ सालसम्म कहिले जेल त कहिले नजरबन्दको सामना गरे उनले ।

नेपाली काँग्रेसका संस्थापक नेता वी.पी.कोइरालाले कम्मुनिष्टसँग नभई राजासँग सहकार्य गर्नु पर्नेमा जोड दिए , जसका कारण नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले काँग्रेस र कम्युनिष्ट मिलेर संयुक्त जनान्दोलन गरेर मात्रै पञ्चायतको अन्त भई नेपालमा प्रजातन्त्र आउछ भनेर जोड दिदा दिदै पनि वी.पी. कोइराला जीवित रहुञ्जेलसम्म काँग्रेसले साझा विषयमा कम्युनिष्टसँग सहकार्य गरेनन् । वि.सं.२०३९ साउन ६ गते वी.पी. कोइरालाको निधन भएपछि नेपाली काँग्रेसको नेतृत्वदायी भूमिकामा रहेका सिंहले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको संयुक्त जनान्दोलनको नीतिलाई स्वीकार गरी पञ्चायत बिरुद्ध काँग्रेस र कम्युनिष्ट मिलेर संघर्ष गर्नु पर्ने नीति अगाडि बढाए , जसका कारण नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु बीच सहकार्य भई संयुक्त जनान्दोलन हुँदा वि.सं. २०४६ चैत्र २६ गते निर्दलीय पञ्चायतको अन्त भई बहुदलीय प्रजातन्त्र स्थापना भयो । त्यसबेला तत्कालीन राजा वीरेन्द्रले नेता सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उनले आफू नभई नेपाल काँग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्न योग्य रहेको भनेर प्रस्ताव गरेर आफू पद र प्रतिष्ठाको पछि नलाग्ने सन्देश दिएका थिए । उनले प्रधानमन्त्रीको प्रस्ताव गरेका कृष्णप्रसाद भट्टराई नेतृत्वको काँग्रेस , कम्युनिष्ट र राजाका प्रतिनिधि सम्मिलित अन्तरिम सरकारले समयमै नेपाल अधिराज्यको संविधान , २०४७ निर्माण गरी त्यही संविधान अनुसार २०४८ सालमा संसदीय निर्वाचन गरायो । सो निर्वाचनमा पनि नेता सिंह आफू उम्मेद्वार बनेन् र त्यसपछि पनि उनी राज्यको सार्वजनिक पदबाट टाढै रहे । त्यसपछि पनि आफू बाचुञ्जेल उनले वि.सं.२०४६ सालको जनान्दोलनमा सहयात्रा गरेका दलहरुलाई साझा विषयमा सहकार्य गर्न र सरकारलाई देश र जनताको पक्षमा काम गर्न आग्रह गरिरहे ।

नेपाली काँग्रस र उसका भातृ तथा भगिनी संघ/संस्थाहरुले नेता सिंहको २४औं स्मृति दिवस मनाउदै छन् ।

Leave a Reply