आज ३९औं वी.पी. कोइराला स्मृति दिवस

काठमाडौं / नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको निधन भएको आज ३९ वर्ष पूरा भएको छ । वि.सं.१९७१ भदौ २४ गते जन्मिएका वी.पी. कोइरालाले राणा शासन विरोधी जनक्रान्तिको अगुवाई गरेका थिए । उनी वि.सं. २००७ सालको जनक्रान्तिपछि बनेकौ मोहन शमशेर नेतृत्वको राजा , राणा र काँग्रेस गठबन्धन सरकारमा गृह मन्त्री र वि.सं.२०१५ सालमा सम्पन्न आम निर्वाचनपछि बनेको नेपाली काँग्रेसको दुई तिहाई बहुमतको सरकारको प्रधानमन्त्री बनेका थिए । आफू प्रधानमन्त्री हुदा चीनसँग राम्रो सम्बन्ध बनाएका कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नेपालको भएको प्रमाणित गराएका थिए । भारतसँग गरिएको गण्डक सम्झौता बाहेक अग्रगामी कार्य अगाडि बढाएका कोइरालको सरकार तत्कालीन राजा महेन्द्रद्वारा वि.सं. २०१७ सालमा अपदस्त भएपछि ८ बर्ष सुन्दरीजल जेलमा उनले कृष्णप्रसाद भट्टराई , गणेशमान सिंह सहितका सहकर्मीसँगै जेल जीवन बिताएका थिए । सुन्दरीजल जेलबाट छुटेपछि गणेशमान सिंह सहितका सहकर्मीसँग भारत प्रवासमा गएका कोइराला त्यहाँ रहदा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलेे उनलाई नेपालको रक्षा र परराष्ट्र मामिलाको अधिकार भारतलाई दिनुहोस् , हामी तपाईलाई आजीवन नेपालको प्रधानमन्त्री बनाई दिन्छौं भनेर प्रस्ताव राख्दा त्यसलाई अस्वीकार गरी उनी वि.सं.२०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिई भारत प्रवासबाट नेपाल फर्किएको पत्रकार जगत नेपालद्वारा लिखित ‘वी.पी. बिद्रोह’ पुस्तकमा उल्लेख छ । उनको पञ्चायत विरुद्ध लड्दा लड्दै वि.सं. २०३९ साउन ६ गते क्यान्सर रोगबाट निधन भएको थियो ।

३ छोरा र १ छोरीका पिता उनी राजनीतिमा वी.पी. कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् । हिन्दी साहित्यमा समेत कलम चलाएका कोइरालाको ‘चन्द्रवदन’ कथालाई नेपाली साहित्यमा पहिलो आधुनिक मनोवैज्ञानिक कथा मान्ने गरिएको छ । उनका छ वटा उपनयास , २ वटा कथा संग्रह र फुटकर कथा र कविता तथा ‘जेल जर्नल’ र ‘आत्मबृतान्त’ पुस्तक प्रकाशित छन् । उनका अधिकांश साहित्यिक रचनामा साहित्यकार एन्टोन चेकोवका साहित्यिक कृतिहरुको प्रभाव रहेको विद्वानहरुको भनाई छ । नेपाली साहित्यको मनोवैज्ञानिक धारा विकसित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइरालाले आफू राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी रहेको बताएका थिए ।

नेपालको वाम आन्दोलनमा पुष्पलाल र नेपाली प्रजातान्तान्त्रिक आन्दोलनमा वी.पी. कोइरालाको उचाई धेरै माथि रहेको देखिन्छ ‌। कोइरालाको राजनीतिक उचाई जत्तिकै साहित्यिक उचाई पनि निकै माथि रहेको देखिएको छ ।

उहाँको ३९औं स्मृति दिवस नेपाली काँग्रेसले बिभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ ।

Leave a Reply