नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्री रमेश लेखकसँग मंगलबार छुट्टा छुट्टै छलफल गरेको छ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघका पदाधिकारीहरुसँगको सो छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले ‘निजी क्षेत्रसँग बलियो सहकार्य नगरेसम्म अर्थतन्त्र बलियो हुदैन’, भन्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा पनि निजी क्षेत्रका मुद्धाहरुलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । रिसर्च केन्द्रित तथ्यपरक सुझावका कारण परिसंघ सक्षम संस्था बनेको पूर्व प्रधानमन्त्री प्रचण्डक भनाई थियो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्यका साथ काम गर्न लागेको बताउनुभयो । उहाँले यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताउनुहुँदै उहाँले सरकार र राजनीतिक दलहरुले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी गृह मन्त्री लेखकसँगको छलफलमा नेपाल उद्योग परिसंघले सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । अवैध कारोबारले स्वदेशी उद्योगहरु प्रभावित हुनुका साथै त्यसको असर सरकारको राजश्वमा समेत परेको परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो ।
त्यस अवसरमा गृहमन्त्री लेखकले नेपाल र भारत सरकारका गृह सचिवस्तरीय बैठकले सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्ने उपायका विषयमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले अवैध आयात नियन्त्रण तथा पर्यटकहरुलाई सहज रुपमा आउने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । गृह मन्त्रीसँगको छलफलमा प्रहरी प्रमुख दीपक थापा समेत हुनुहुन्थ्यो ।
उक्त छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राजबहादुर शाह, हेमराज ढकाल, भीम घिमिरे र गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो





