मंगलबार बेलुका अबेरसम्म चलेको सरकारी बार्ताटोली र आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरेको नेपाल शिक्षक महासंघका प्रतिनिधि वीच भएको बार्तामा शिक्षकहरुले ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । नेपाल शिक्षक महासंघका नेताहरुका अतिरिक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तका अतिरिक्त, उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल र गृह मन्त्री रमेश लेखकको समेत उपस्थिति रहेको यो बार्ता निश्कर्षमा पुग्न नसकेपनि सकारात्मक ढंगबाट अगाडि बढेको र आज सहमतीका लागि पहल गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय श्रोतले जनाएको छ ।

आजबाट केही स्थानीय तहले पठनपाठन शुरु गरेको बताइएको छ । जसका कारण आन्दोलनका लागि काठमाडौंमा रहेका शिक्षकहरु विद्यालय फर्किन थालेको देखिएको छ । यसले शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ यो आन्दोलनको सुरक्षित अवतरण गर्नु पर्ने दवावमा परेको छ । यही कारण उसले शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेको कतिपय जानकार बताउछन् ।





