कुलपति केपी शर्माओलीसँग कुरा नमिलेर उपकुपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि गत चैत्रबाट रिक्त रहेको उपकुलपति त्रिभुवन विश्वविद्यालयले बुधबार पाएको । त्रिभुवन विश्वविद्यालयका सह-कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको उपकुलपति छनौट समितिले सिफारिस गरेका दीपक अर्याल, विनिल अर्याल र खड्ग के.सी.मध्येबाट जल तथा मौसम विभागका प्रा.डा.दीपक अर्याललाई त्रिभुवन विश्वविद्यालका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरि बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । त्यस लगत्तै प्रा.डा. अर्यालले त्रि.वि.को उपकुलपतिको पदभार सम्हाल्नुभयो । उहाँले त्रि.वि.मा जिम्मेवारी सम्हाल्दै गर्दा ने.वि.संघ र अखिल (क्रान्तिकारी)ले असन्तुष्टी प्रकट गर्दै थिए ।
जल तथा मौसम विज्ञानको क्षेत्रमा सफलता हासिल गरेका प्रा.डा. अर्यालले त्रि.वि.को उपकुलपतिको जिम्मेवारीमा रहेर कति सफलता पाउनु हुने हो त्यो हेर्न बाँकी नै छ तर उहाँले त्रि.वि.लाई सुधार गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । उहाँ भन्दा अगाडिका उपकुलपतिहरुले पनि त्रि.वि.लाई सुधारको बाटोमा अगाडि बढाउने प्रतिबद्दता व्यक्त गरेपनि उनीहरुको कथनी अनुरुपको व्यवहार आंशिक रुपमा मात्रै देखिएकोले प्रा.डा. अर्यालको प्रतिबद्दता पूरा हुने हो या होइन ,त्यो उहाँको व्यवहार नहेरी भन्न सक्ने अवस्था छैन ।
पहिला त उपकुलपति प्रा.डा.अर्यालले सरोकारवालाहरुलाई विश्वासमा लिएर त्रि.वि.को कामकारबाही पारदर्शी ढंगबाट गर्नु आवश्यक छ । त्रि.वि.मा हुने नियुक्ति लगायतमा राजनीतिक भागबण्डाको संस्कृति अन्त गर्ने, त्रि.वि.को शैक्षिक क्यालेण्डरलाई अक्षरश: कार्यान्वयन गर्ने, त्रि.वि.को परीक्षा प्रणालीमा सुधार गर्ने, त्रि.वि.को पठनपाठन , पाठ्यक्रम, होष्टल तथा अनुसन्धान र अन्वेषणमा सुधार गर्ने , त्रि.वि र उसका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजको सम्पति व्यवस्थापन गरि त्यसलाई पारदर्शी ढंगबाट उत्पादनमुलक कार्यमा लगाउने, त्रि.वि. सेवा आयोगलाई थप व्यवस्थित गरि त्रि.वि सेवा आयोग मार्फत नपयमित रुपमा त्रि.वि.का उपप्राध्यापक/सहप्राध्यापक/प्राध्यापक तथा कर्मचारी नियुक्त गरि त्रि.वि.मा अस्थायी तथा करारमा प्राध्यापक र कर्मचारी नियुक्त गर्ने परिपाटी बन्द गर्ने ,त्रि.वि.को गुणस्तर सुधार गरि अध्ययनकालागि विदेश गइरहेका स्वदेशी विद्यार्थीहरुका साथै विदेशी विद्यार्थीहरुलाई त्रि.वि.मा अध्ययन अनुसन्धानका लागि आकर्षित गर्ने तथा त्रि.वि.मा अध्ययनरत विद्यार्थीलाई विज्ञान र प्रविधिसँगै नेपालको कृषि , पर्यटन तथा मानव संशाधन आदिमा जोड्ने, त्रि.वि.को मेडिकल, इञ्जिनियरिङ लगायतको अध्ययनलाई सर्वसुलभ र थप गुणस्तरीय बनाउने, स्नातकोत्तर/एमफिल/विद्यावारिधि अध्ययन गरेका विद्यार्थीलाई कम्तीमा दुई वर्ष दूरदराजका क्षेत्रमा गएर काम गरेपछि मात्रै सो तह उत्तीर्ण गरेको प्रमाणपत्र दिने व्यवस्था गर्ने लगायतका कार्य गर्न सके उपकुलपति अर्यालको प्रतिबद्दताले सार्थकता पाउने कतिपय जानकारहरुको भनाई छ ।





