भक्तपुर नगरपालिका वडा नं. २, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा २०८० साउन १३ गते शनिबारदेखि एक हप्ते उद्घोषण तालिम शुरु भयो । सो तालिमको उद्घाटन स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले गर्नुभयो । त्यसै अवसरमा समाजसेवी सुवालले उद्घाटन मन्तव्य व्यक्त गर्दै हरेक तालिमले व्यक्तित्व विकासमा टेवा दिने विचार ब्यक्त गर्नुभयो । उहाँले उद्घोषण तालिमले व्यवहारिक शिक्षा पनि दिन्छ भन्दै यो तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त तालिमको उद्घाटन कार्यक्रमका मन्तव्य व्यक्त गर्दै ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोबार गरिरहेको हाम्रो यो संस्थाले कृषकहरुलाई नियमित रुपमा सुपथ मूल्यमा रासायनिक मल वितरण गरिरहेको छ भन्दै यस संस्थाका शेयर सदस्यहरुको साँस्कृतिक र शैक्षिकस्तर उकास्ने उद्देश्यले यश संस्थाको महिला उप-समितिको आयोजनामा उद्घोषण तालिम सञ्चालन आरम्भ भएकोले यो तालिममा नियमित सहभागिताको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।
उक्त अवसरमा उदघोषण तालिममका प्रशिक्षक रविन्द्र कुसीले तालिमले उद्घोषण कला मात्र नभइ भाषण कला पनि सिक्ने जानकारी दिनुभयो ।
सोही संस्थाको महिला उप-समितिका संयोजक रामलक्ष्मी लघुको अध्यक्षतामा सम्पन्न त्यस उद्घाटन कार्यक्रममा सोही महिला उप-समिति सदस्य रीता सुवालले यो तलिममा अनुशासित रुपमा सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उक्त अवसरमा त्यसै महिला उप-समिति सदस्य तथा भक्तपुर नगरपालिका वडा नं २ का स्वास्थ्य स्वयमसेविका बबिमैया कवांले तालिमका प्रशिक्षार्थीहरुलाई डेंगु रोगबाट बच्ने उपायबारे जानकारी दिनुभयो ।





