सरकारको एक घटक नेकपा (एमाले)ले विश्वासको मत फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउदो शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । आज उहाँले संघीय संसदमा विश्वास मत लिने प्रयोजनका लागि पत्र पठाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरि संघीय संसदका महासचिवलाई सम्बोधन गरेको उक्त पत्रमा ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्ने प्रावधान अनुरुप उक्त विषय सम्वत २०८१ साल असार २८ गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’ उल्लेख छ ।
पछिल्लो पटक प्रधानमन्त्री बनेपता प्रधानमन्त्री प्रचण्डले पाचौं पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
यो हप्ताको शुरुमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने , संविधान संशोधन गर्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमती भएसँगै नेकपा (एमाले)ले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई नेकपा (माके)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका साथै सुदूरपश्चिम प्रदेश, लुम्विनी प्रदेश र बागमती प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ भने उसले ती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यी दुुई दल वीच भएको भनिएको सहमती तलमाथि नभएमा आउदो शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको पाउन सक्ने अवस्था देखिदैन, जसका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्ने छन्् ।





