प्रधानमन्त्री बाालेन्द्र साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई आज बर्खास्त गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा मन्त्री बनेको १४ दिनमा नै प्रधानमन्त्री साहले मन्त्री साहलाई बर्खास्त गरेको बताइएको छ । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री साहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि आफैसँग राखेको जनाइएको छ ।
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा आफ्नी श्रीमतीको नियुक्ति भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री साहको सर्वत्र आलोचना भएको थियो । यही कारण बुधबार रास्वपाको अनुशासन आयोगले त्यस बारेमा विस्तृत अध्ययन गरेको बताइएको थियो । सोही अध्ययनपछि सभापति लामिछानेले मन्त्री साहलाई बर्खास्त गर्न र स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन लिखित सिफारिस गरेको बताइएको छ । उक्त सिफारिस भएसँगै प्रधानमन्त्री साहले मन्त्री साहलाई मन्त्री पदबाट राजिनामा गर्न भनेपनि मन्त्री साहले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको समाचार श्रोतले जनाएको छ ।
यता बर्खास्त भएका मन्त्री साहकी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गर्दा ध्यान नदिएको भन्दै प्रधानमन्त्री साहले सचेत गराएको बताइएको छ तर कतिपय जानकारहरु भने स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डको सदस्यमा मन्त्रीद्वय साह र मेहताको मिलेमतोमा बर्खास्त गरिएका मन्त्री साहकी श्रीमतीलाई नियुक्त गरेपनि स्वास्थ्य मन्त्री मेहतनलाई चाहिँ जोगाउने काम भयो तर सो मामिलामा मुख्य दोषी स्वास्थ्य मन्त्री मेहता रहेको बताउछन् ।





