भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा एक दिवसीय “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयक गोष्ठी रोयल थाइ हस्पिटालिटी राधेराधे,भक्तपुरमा २०८२ जेठ १५ गते बिहीबार सम्पन्न भयो । कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै सो संघका अध्यक्ष

कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्डमा तरलता गणना सम्बन्धी व्यवस्था सच्यानुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीमा नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था रहेको भन्दै उहाँलृ जोखिम भारित सम्पत्ति जस्ता नयाँ विषयबस्तु रहेको बताउनुभयो । मापदण्डमा प्राथमिक पुँजीकोष पर्याप्त मात्रामा नभएका सहकारी संस्थाले नाफा भएपनि लाभांश बाड्न नपाइने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व महाप्रबन्धक

चित्राकुमारी थाम्सुहाङ सुब्बाले “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक

कृष्णश्वरी मचामसीले सहकारीमा महिलाहरूले के कस्तो भूमिका खेलिरहेका छन् , सहकारीले महिला सशक्तिकरणको लागि के कस्तो भूमिका खेलेको छ र अहिलेको सहकारी अभियानमा महिलाले के भूमिका खेल्नुपर्दछ भन्ने उद्देश्यका साथ गोष्ठीको आयोजना भएको बताउनुभयो । उहाँले सहकारी अभियानमा मात्र नभएर अन्य जुनसुकै क्षेत्रमा निरन्तरता हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सो महिला सशक्तिकरण उप-समितिका सदस्य निर्जना ढुंगेल दाहालले स्वागत मन्तव्य र सोही संघकी अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नुभएको कार्यक्रममा ६१ जनाको सहभागिता रहेको थियो ।






