बामपन्थी नेतृ यमुना भुसालको निधन

बामपन्थी नेतृ एवं नेकपा (एस)की केन्द्रीय सदस्य तथा अर्घाखाची जिल्ला सह-इञ्चार्ज यमुना भुसालको गए राती ५५ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा उपचारको निधन भएको छ । उहाँको निधनप्रति नेकपा (एस)ले शोक व्यक्त गरेको छ । उक्त पार्टीका उप-महासचिव एवं केन्द्रीय कार्यालय सचिव डा.गंगालाल तुलाधरले आज शोक वक्तव्य जारी गरी दिवंगत भुसालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अविवाहित दिवंगत भुसाल लडाकु , निडर र इमान्दार बामपन्थी नेतृ हुनुहुन्थ्यो । नेकपा (मसाल)मा संगठित भएर नेपालको कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नु भएकी भुसाल नेकपा (एकताकेन्द्र मसाल) हुदै २०६३ सालमा तीन कम्युनिष्ट पार्टी भई एकता भएर बनेको ऋषि कट्टेलको नेतृत्वको नेकपा (एकीकृत)को केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । पछि नेकपा (एकीकृत) छाडेर नेकपा (माके)मा प्रवेश गर्नु भएकी भुसाल नेकपा (एमाले) र नेकपा (माके) बीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा उहाँ त्यहीं रहनुभयो । २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भई पुन: नेकपा (एमाले) र नेकपा (माके) बने । नेकपा (एमाले) पुन: विभाजन भएर २०७८ साल भदौमा नेकपा (एस ) बन्दा यमुना भुसाल सोही पार्टीमा लाग्नुभयो । दिवंगत भुसालका कुनै समयका राजनीतिक सहकर्मी रहेका र हाल साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुबेदी र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की तथा पिपुल्स फोर्सका सह-संयोजक निलगगन लगायतले उहाँको असामयिक दु:खद निधनप्रति शोक प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *