नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सहकारी ( पहिलो संशोधन) अध्यादेश,२०८३ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

नेपालको संंविधान,२०७२ मा सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको तीनवटा खम्बामध्येको एउटा खम्बाको रुपमा उल्लेख छ तर सरकारले सहकारी क्षेत्रको उचित व्यवस्थापन गर्न नसक्ता यो क्षेत्रमा बेथिति बढेको छ । केही सहकारी संस्थाका सञ्चालक, व्यवस्थापन पक्ष र सदस्यहरुको बद्मासीका कारण नेपालको राष्ट्रिय अर्थतन्त्र र ग्राहस्थ उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सहकारी क्षेत्र बदनाम भएको छ । त्यही कारण राम्रो सँग सञ्चालन भइरहेका सहकारी संघ संस्थाहरुका सदस्य, सञ्चालक तथा व्यवस्थापन अमानित भएका छन् । सरकारले सहकारी क्षेत्रलाई मर्यादित बनाउन भनेर स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण बचत तथा ऋण सहकारीमा मात्रै केन्द्रित हुनु लगायतका कारण सहकारीको विकास र प्रवर्द्धन हुन सकेको देखिदैन ।





