भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा भएको एक हप्ते बोल्ड टेक्स्ट राइटिङ (Bold Text Writing) तालिमको समापन कार्यक्रम भक्तपुर नगरपालिकाको साविक वडा नं. १५ का पुर्व वडाअध्यक्ष्ँ रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८१ असार २९ गते सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि खर्बुजाले सहकारीबाट विद्यार्थीहरुको जीवन उपयोगी तालिम दिएकोमा खुसी व्यक्त गर्दै तालिमबाट सिकेको ज्ञानलाई प्रमाण-पत्रको रुपमा मात्र सिमित नराखी नियमित प्रयोगमा ल्याउन सके सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । मानिसको जीवनमा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने अवस्था आइराख्ने तर्फ इङ्गित गर्दै उहाँले यस्तो अवस्थामा तालिमको महत्व हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले हाम्रो यो संस्था समुदायलाई केन्द्रमा राखेर विभिन्न गतिविधिहरु सञ्चालन गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले यो तालिम प्रशिक्षार्थीहरुबाट नै सिकेको अनुभुति हुने गरी सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । सामाजिक दायित्वको रुपमा विद्यार्थीहरुले समुदायमा प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयहरु तथा संस्थाहरुमा चाख दिदै गएमा समाज सकारात्मक दिशातर्फ अगाडि बढ्न टेवा पुग्ने विचार व्यक्त गर्दै उहाँले तालिममा सिकेका सीपहरु धेरै क्षेत्रमा प्रयोग गर्न सकिने भएकोले प्रशिक्षार्थीहरुले त्यसको लाभ उठाउनु सक्नु पर्ने खाँचो औँल्याउनुभयो ।
संस्थाका सञ्चालक समितिका सचिव एवं युवा तथा अतरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको उक्त तालिममा त्यसै उप-समिति सदस्य कल्पना द्यौपाला, तालिमका प्रशिक्षक इन्द्रभक्त पंच तथा प्रशिक्षार्थीहरु भौरभ मानन्धर, एञ्जल बाटी र युनिका कोजुले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
उक्त तालिमको प्रतियोगिता चरणमा भएको प्रतिस्पर्धामा प्रशिक्षार्थीहरु क्रिष्टल गारु प्रथम, प्रिन्सा पक्का द्वितीय, मञ्जिला फाँजु तृतीय तथा निश्चल नापित सान्त्वना हुन सफल भयो । उनीहरुलाई पुरस्कार प्रदान गरियो ।
२०८१ असार २३ गतेबाट शुरु भएको यो तालिममा १४ जना प्रशिक्षार्थीहरु सहभागी भएको जानकारी सोही उप-समिति सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो भने प्रशिक्षकलाई कदरपत्र प्रदान गरि सम्मानित गरिएको थियो ।
कार्यक्रमको झलक














