शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघमा आज आयोजित समझदारी- पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा.सूर्यराज आचार्य र नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक डा.घनश्याम ओझाले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न नेपाल उद्योग परिसंघले काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल विश्वविद्यालयका कुलपति डा.विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इण्ट्रनसीप गराउन नेपाल उद्योग परिसंघले सहयोग गर्नुपर्ने बताउनुभयो । सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको भन्नुहुँदै उहाँले अहिलेको आवश्यकता पनि त्यही रहेको बताउनुभयो ।
यसैगरी सोही विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता र नविनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताउनुभयो । विश्वविद्यालय नयाँ अवधारण अनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस अवसरमा नेपाल उद्य‍ोग परिसंघका बरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता, अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने बताउनुभयो ।
उक्त अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्यहरु डा. जगदीशचन्द्र पोखरेल, डा. विमला राई पौडेल, डा. लालकृष्ण केसीलगायत सहभागी हुनुहुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *