गत सोमबार विहान ८:५६ बजे नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र लैङ्गिक हिंसा विरुद्धको व्यानर लिएर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर बिहीबार सोलुखुम्बुबाट काठमाडौं फर्केकी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा साइबर व्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो । सोलुखुम्बु स्थायी ठेगाना भएकी शेर्पालाई सम्मान स्वरुप एक तह अर्थात नेपाल प्रहरीको नायब निरीक्षकमा विशेष बडुवा गरिएको बताइएको छ । उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी हुन् ।

यता गत मंगलबार कैलालीको गोदाबारी नगरपालिका -१, चैतन्यपुरमा प्रसव पीडामा सडकमा छटपटाइरहेकी एक महिलालाई नजिकैको एक व्यक्तिको घरको आँगनमा लगेर सुरक्षित रुपमा प्रसुती गराएर आमा र शिशुको जीवन बचाएकी प्रहरी जवान चन्र्द्रिकाकुमारी देउवा सम्मानित भएकी छन् । उनलाई प्रहरी महानिरीक्षक दीवक थापाले पुरस्कृत गरेको जनाइएको छ ।

यसैगरी उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले सम्मान गरेको थियो ।

प्रहरी जवान देउवाको सो कार्यलाई लिएर प्रशंसा भहृरहेको छ । सडकमा एक पागल महिला लडिरहेकोले उनलाई त्यहाँबाट हटाउन भनेर कसैले प्रहरीलाई खबर गरेपछि उनी प्रहरी हवल्दारका साथ त्यहाँ पुगेकी थिइन् । प्रसव पीडामा बेहोस अवस्थामा रहेकी महिलालाई लिन एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली आउन ढिलाइ हुने भएपछि जोखिम मोलेरै भएपनि उनले ती महिलाको नजिकमा रहेका महिलाहरुलाई सोध्दै यस अघि आफूले कहिल्यै नगरेको प्रसुती गराउने कार्य गरेकी थिइन् । उनले सुरक्षित प्रसुती गराएपछि पुगेको स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्समा ती आमा र नवाजात शिशुलाई पद्मा अस्पताल लगेका थिए । उनीहरु आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





