आफ्नै भवनबाट सञ्चालन भइरहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अष्टलाल महर्जनको अध्यक्षता तथा स्थानीय समाजसेवी सुरेशमान महर्जनको प्रमुख आतिथ्यतामा २०८१ मंसिर २९ गते शनिबार ललितपुरको ज्वागलमा सम्पन्न भयो । दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गरेका प्रमुख अतिथि महर्जनले समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको छ भन्दै सहकारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । उहाँलृ समुदायमा आधारित रहेर हाम्रै टोलमा सञ्चालन भइरहेको त:ननी साकोसले गरेको प्रगति देख्ता खुशी लाागेको बताउनुभयो ।
सो अवसरमा उत्सर्ग बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष रामसुन्दर श्रेष्ठले केही सहकारीमा देखिएको समस्यालाई लिएर सिङ्गो सहकारी क्षेत्रमाथि प्रहार भइरहेको भन्दै दु:ख व्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो समयमा त:ननी साकोसले गरेको कार्य र प्रगति प्रशंसनीय रहेको बताउदै उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष महर्जनले सहकारीको सिद्धान्त, मूल्य, मान्यता तथा नियामक निकायको मार्गदर्शन र निर्देशनलाई आत्मासात सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताले प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । उहाँले १४ वटा फरक फरक सहकारी संस्थाहरु रहेको यल अन्तर सहकारी समन्वय समितिको १ वर्ष यस संस्थाले सफलतापूर्वक नेतृत्व गर्न पाउँदा फरक अनुभूति गर्न पाएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो ।
साधारण सभामा सो संस्थाका कोषाध्यक्ष नीरज महर्जनले संस्थाको आर्थिक प्रतवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक चिरीबाबु महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरु बीच छलफल गरि ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म उक्त संस्थामा शेयर पूँजी रु.१,३३,६९,८०७, निक्षेप संकलन रु.९५०,६७,५९९.१६ र कर्जा लगानी रु.७,०१,७०,३८७ रहेको उल्लेख छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका त्यस संस्थाका व्यवस्थापक विनोद महर्जनले सञ्चालन गरेको साधारण सभामा उक्त संस्थाका पूर्व उपाध्यक्ष विकेश महर्जन र पूर्व सञ्चालक विनिता महर्जनका साथै सोही संस्थाका जेष्ठ शेयर सदस्य र शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०८० को एसईई(SEE)मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएकाहरुलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा नेवा: आइडलमा सफलतापूर्वक अगाडि बढिरहेका सो संस्थाका सचिव रत्नमान महर्जनलाई उक्त आइडलमा सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो ।





