भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को पच्चीसौं स्थापना दिवसमा सो संस्थाका २४ जना सदस्यहरु सम्मानित हुनुभएको छ । उक्त संस्थाको पच्चीसौं स्थापना दिवस आफ्ना शेयर सदस्यहरुलाई तीर्थ भ्रमण गराई मनाइएको छ । त्यस संस्थाको ४ वर्षे रणनीतिक योजना अनुसार शिक्षा उप-समितिको संयोजनमा यही चैत्र १ गते यो संस्थाका स्थापनाकालका २४ जना सदस्यहरु तथा सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी एवं सदस्यहरु लगायत ६५ जना शेयर सदस्यहरुलाई सिन्धुपाल्चोकको पाल्चोक भगवती मन्दिरमा दर्शन गराई त्यही स्थानमा कार्यक्रम गरी संस्थाको वित्तीय अवस्था र गतिविधिको बारेमा शेयर सदस्यहरुलाई अवगत गराइएको थियो । त्यस अवसरमा सो संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालले सोही संस्थाका २४ जना सदस्यहरुलाई दोसल्ला ओडाई कदरपत्र सहित राधाकृष्णको मूर्ति प्रदान गरी सम्मान गर्नुभयो । उक्त अवसरमा अध्यक्ष ढुंगेलले ‘सहकारीको सिद्धान्त , ऐन र नियम तथा नियामक निकायले समय-समयमा जारी गरेका नीति निर्देशनहरुलाई पालना गरी सञ्चालन भइरहेको हाम्रो यो संस्थालाई सफलताका साथ अगाडि बढाउन सहयोग गर्ने शेयर सदस्य ज्यूहरु , कर्मचारीहरु लगायत सबैलाई धन्यबाद ज्ञापन गर्दछु’, भन्नुभयो ।





स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाले आफ्ना शयर सदस्यहरु बीच बचत तथा ऋण कारोबार सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रचनात्मक क्रिपाकलापहरु सञ्चालन गर्दै आएको छ । उक्त संस्थालाई गत पुसमा सम्पन्न जिल्ला सहकारी संघ लि., भक्तपुरको चौबीसौं वार्षिक साधारण सभामा उत्कृष्ट सहकारी संस्था पुरस्कार प्रदान गरी सम्मामा गरिएको थियो ।






