भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८२/०८३ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम २०८२ माघ २३ गते सम्पन्न भयो । साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं सोही संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा उकत कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खर्बुजाले जेनजी अन्दोलनबाट उत्पन्न राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै अहिले बनेको सुशीला कार्की नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न नसकेको र आफै पनि सुशानमा बस्न नसकेको बताउनुभयो । उहाँले देशभरी नै निर्वाचनको सामाजिक सञ्जाल मार्फत व्यापक प्रचारप्रसार भइरहेको अवस्थामा भक्तपुरमा निर्वाचन प्रचारप्रसार कार्यक्रमहरु सुरुवाती अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाहरु मार्फत देशको राजनीतिक स्थिति सम्बन्धी सदस्यहरुलाई समय समयमा हुने विविध कार्यक्रम मार्फत निरन्तर रुपमा जनकारी गर्दै लैजानुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष राजन जतिले

“हाम्रो यस संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुलाई पारदर्शी रुपमा विभिन्न गतिविधिहरुको बारेमा विभिन्न कार्यक्रमहरु मार्फत जानकारी दिदै आएको छ”, भन्नुभयो । उहाँले हाल सहकारी संस्था सञ्चालनको लागि सहकारी विभाग, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायत धेरै नियामकीय निकायबाट जारी छुटाछुटै निर्देशनहरु कार्यान्वयन गर्न एवं सहकारी संस्थाहरुलाई निर्देशन पालनामा दोहोरिने र आपसमा बझिने समस्याहरु देखिएकाले सबै नियामकीय निकायहरु मार्फत एकद्वार प्रणालीबाट सहकारी सञ्चालनको लागि चुस्त एउटै निर्देशन जारी हुनु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता सम्बन्धी प्रावधानहरुको बारेमा पनि जानकारी दिदै उहाँले सहकारीहरुमा तरलता न्युन भएको अवस्थादेखि आहिलेको विद्यमान तरल बृद्धि भएको अवस्थामा पनि यस संस्थाले निरन्तर रुपमा सदस्यहरुको हित र प्रगतिलाई मध्यनजर गरी वित्तीय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तर गर्दै जाने बताउनुभयो ।

उक्त कार्यक्रममा सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले संस्थाको लेखा प्रतिवेदन, सचिव राजु छुकांले संस्थाको अर्ध-वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाका विभिन्न उप-समितिबाट आ-आफ्नो प्रगति प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा उक्त संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।






