अस्ताए डा. मनमोहन सिंह

लामो समयदेखि अस्वस्थ रहँदै आएका भारतीय कंग्रेस पार्टीका बरिष्ठ नेता तथा भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहले बिहीबार साझ ९:५१ बजे ९२ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा सदाका लागि आँखा चिम्लिए । उनको निधनमा भारतीका राजनीतिक दल, सरकार र नागरिक शोक मनाइरहेका छन् । यसै क्रममा अष्ट्रेलियाको मेलवर्न रहेका भारतीय क्रिकेट खेलाडीहरुले डा.सिंहको निधनमा आज शोक प्रकट गरे ।

पञ्जाव विश्वविद्यालयबाट सन् १९५४ मा अर्थशास्त्रमा स्नातकोत्तर र क्याम्ब्रिज विश्वविद्यालयमा अर्थशास्त्रको तीन वर्षीय डिग्री गरेका डा.सिंहले अर्क्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा अर्थशास् विषयमा विद्यावारिधि गरेका थिए । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको बागडोर सम्हालेका डा.सिंह त्यस अघि भारतको रिजर्भ बैंकको गभर्नर, राष्ट्रिय योजना आय‍ोगको पहिला सदसय र पछि उपाध्यक्ष , विश्वविद्यालय अनुदान आय‍गको अध्यक्ष , अर्थ मन्त्री तथा सरकारको आर्थिक सल्लाहकार, राज्य सभामा विपक्षी दलको नेता जस्ता जिम्मेवारी सम्हालेका थिए ।

सन् २००४ मा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा भारतीय कंग्रेस गठबन्धनले लोक सभा चुनाव जितेपछि प्रधानमन्त्री बन्ने तयारीमा रहेकी सोनिया गान्धीको भाजपा लगायतका विपक्षी दलहरुले विरोध गरेपछि अन्तत: डा.सिंह प्रधानमन्त्री बने । उनको सन् २००४ देखि २००९ सम्मको प्रधानमन्त्रीको कार्यकाल औषतमा ठीकै रहेको जानकारहरुको भनाई छ । सन् २००९ मा भएको लोक सभा निर्वाचनमा भारतीय कंग्रेस गठबन्धनले ठूलो घटक भएरपनि बहुमत पु-याउन सकेन । त्यसैले उसले लोक सभामा राम्रै उपस्थिति रहेको वाममोर्चासँग सहकार्य गरेर सरकार बनायो र डा.सिंह पुुन: प्रधानमन्त्री बने । उनले आर्थिक सुधार र प्रविधिमा जोड दिए । त्यसबेला भारत प्रगतिपथमा अगाडि बढेको भनेर पूँजीवादी अर्थशास्त्रीहरुले उनको प्रशंसा गरेपनि राष्ट्रिय अर्थतन्त्र सुधार गर्ने नाममा मिश्रित अर्थतन्त्रलाई छाडेर उदारवादी अर्थतन्त्रमा जोड दिएपछि उनको सरकारप्रति नागरिकमा असन्तुष्टि बढ्न थाल्य‍ो । यहीकारण मुलुकमा भ्रष्टाचार र बेथिति बढेको भन्दै अन्ना हजारेको नेतृत्वमा भ्रष्टाचारको विरोधमा अनसन शुरु भयो । पछि त्यसै जगमा अरविन्द केजरीवालको नेतृत्व आम आदमी पार्टीको उदय भयो । त्यसयता दिल्ली सरकारमा एकछत्र प्रभुत्व कायम गरेको आम आदमी पार्टीले पछिल्ला केही वर्षयता पञ्जावको सरकारमा एकछत्र प्रभुत्व कायम गरेको छ भने ग‍ोवा, गुजरात र हिमाञ्चल विधान सभामा उपस्थिति जनाएको छ ।

डा.सिंहको सरकारले उदारवादी अर्थनीति अगाडि बढाएका कारण भारतीय कंग्रेसको ओरालो यात्रा शुरु भयो भने डा.सिंह सरकारको उदारवादी अर्थनीतिलाई साथ दिएकै कारण वामपन्थी दलहरुको अवस्था नाहाजुक बन्न पुग्यो । सन् २०१४ र२०१९ को तुलनामा भारतीय कंग्रेस गठबन्धन र भारतीय कंग्रेसले अवस्थामा केही सुधार गरेपनि वामपन्थी दलहरुको अवस्था त्यत्तिसारो सुध्रिएको देखिएको छैन । सन् २०२४ को लोक सभामा भारतका वामपन्थी दलहरुको अलाएन्सले जम्मा ४ सीट जितको छ । ।

डा.सिंहको सरकारले २०६२/०६३ जन-आन्दोलनलाई सफलतामा पु-याउन, सशस्त्र संघर्ष गरिरहेको नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याउन र नेपालमा संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा सहयोग गरेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *