अर्गानिक कृषिको सम्भावना तथ अवसरका विषयमा सीएनआई युवा उद्यमी मञ्चको छलफल सम्पन्न

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा काठमाडौंमा २०८१ असार २८ गते शुक्रबार छलफल गरेको जनाएको छ । मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको जनाइएको छ ।
सो अवसरमा इजरायलका राजदूत गोल्डबर्गरले इजरायलले सिमित बर्षाका बावजुद आफ्नो देशमा पर्याप्त खाद्यान्न उत्पादन गर्न सफल मात्र नभई निर्यात समेत गरिरहेको बताउनुभयो । इजरायलले प्रयोग गरेका आधुनिक कृषि प्रणालीहरुका विषयमा जानकारी गराउँदै उहाँले नेपाली उद्यमीहरूलाई भारतका कृषि केन्द्रहरूको भ्रमण गरी उन्नत कृषिका बारेमा ज्ञान प्राप्त गर्न आग्रह गर्नुभयो।
उक्त अवसरमा गोल्यान ग्रुपमा अध्यक्ष पवन गोल्यानले नेपालमा अर्गानिक कृषिको महत्व र आवश्यकताका विषयमा आफ्ना धारणा व्यक्त गर्नुभयो । उहाँले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा कृषि उद्यमीका लागि लगानी, साझेदारी तथा उत्पादन खरीदका अवसरका विषयमा समेत जानकारी गराउनुभयो।
सोही अवसरमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अनुराग गोयलले नेपालको कृषि क्षेत्रमा नवप्रवर्तन र विकासलाई प्रवर्द्धन गर्न मञ्चले आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्टर्टअपहरुलाई नेपालमा अर्गानिक कृषिको पूर्ण सम्भावनालाई उपयोग गर्न निरन्तर सहयोग गर्ने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *