राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो औद्योगिकरणका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्छ र त्यसका लागि उद्योगी र किसान बीच आपसी समन्वय आवश्यक रहेको बताउनुभएको छ । विराट एक्सपोको उद्घाटन गर्दै उहाँले जोगबनी -बिराटनगर- किमाथान्का सडक निर्माण सम्पन्न भएपछि यो सडकले चीन र भारतलाई सिधा जोड्ने भएकोले देशको पूर्वी क्षेत्रको आर्थिक विकासको ढोका खुलेर जनाताको जीवनस्तर माथि उठाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले विगतमा देशकै प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगरले आर्थिक र उद्योगिक विकासको सम्भावनालाई सदुपयोग गर्दै बिगतको आफ्नो ओद्योगिक क्षेत्रको गौरव कायम गर्ने दिशामा अग्रसर हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ‘बिगतमा भूकम्प, नाकाबन्दी, कोभिड जस्ता समस्याले असर झेलेको औद्योगिक क्षेत्र सरकार र नेपाल राष्ट्र बैंकका पछिल्ला नीतिले थप समस्या परेको र जसका कारण बिगत वर्षको तुलनामा ३६ प्रतिशत निर्यात र २५ प्रतिशत विद्युत खपत घट्नुका साथै आयकर संकलन पनि विगतका बर्षको तुलनमा ५० प्रतिशत घट्ने अवस्था देखिएको छ’, भन्नुभयो । उहाँले तरलता अभाव रहेसम्म भुक्तानी सन्तुलनले मात्रै आर्थिक स्थितिमा सुधार हुन नसक्ने ठोकुवा गर्नुभयो
सोही अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले कोभिड-१९ पछिको मन्दीले सबै उद्योगहरु प्रभावित हुदा समग्र अर्थतन्त्रमा समस्या देखिन थालेको भन्दै आयत प्रतिस्थापन र निर्यात बृद्धि गरी देशको आर्थिक बृद्धिमा सहयोग गर्ने उद्योग चाहिएकोले त्यही अनुसारको सरकारका नीति र कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
मोरङ उद्योग संगठनको आयोजनामा यही पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोमा ३ सय ६१ वटा स्टल रहेको आयोजकको भनाई छ । ।