नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । २०८१ भाद्र ६ गते सम्पन्न सो मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अग्रवाल नेतृत्वको उक्त कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इण्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ । सो मञ्चको सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल हुनुहुन्थ्यो ।
नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुहुँदै नेपाल उद्य‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरुलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गर्नुभयो । देशमा रोजगारी बढाउन र औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिदै उहाँले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिनुभयो ।
सो मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले यो मञ्चको नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्टार्टअप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको भन्नुहुँदै उक्त मञ्चका नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरुलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताउनुभयो । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आवद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुनुहुन्छ । उहाँ सो मञ्चमा सन् २०१९ देखि सक्रिय हुनुहुन्छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *