काठमाडौं/ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएकोले स्वचालित मुल्य बृद्धिको पद्धति अनुरुप बिहीबार राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगम लि.ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति ली.रु.५ का दरले मुल्य बृद्धि गरेको जनाएको छ । बिहीबार सो निगमद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । जस अनुसार काठमाडौं उफत्यकामा पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा खरीद मुल्य क्रमश: रु१५० र १३३ लागू गरिएको छ तर हवाई इन्धन र खाना पकाउने एल.पी, ग्यासको मुल्यबृद्धि भने गरिएको छैन ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको थप मुल्य बृद्धि हुन सक्ने भन्दै उपभोक्ताहरुले चिन्ता व्यक्त गरेको देखिएको छ । त्यस्तै आर्थिक विपन्न परिवारसँग जोडिएको डिजेल र मट्टितेलमा मुल्य बृद्धि हुने तर हवाई इन्धनको मुल्य यथावत राखेको प्रति पनि आर्थिक विपन्न परिवारले असन्तुष्टि व्यक्त गरेको देखिएको छ ।
यता सरोकारहरुले भने पेट्रोल, डिजेल/मटृटितेल र खाना पकाउने एल.पी. ग्यासमा उपभोक्ता सुपथ मुल्य र बजार मुल्य गरी दुई खाले मुल्य प्रणाली लागू हुनु पर्नेमा जोड दिइरहेका छन् । उनीहरु भन्छन्- सरकारले पेट्रोलियम पदार्थमा अनावश्यक कर लिन बन्द गर्नु पर्ने , पेट्रोलियम पदार्थको चुहावट रोकनु पर्ने, नेपाल आयम निगम लि.भित्रको भ्रष्टाचारजन्य क्रियाकलाप, फजुल खर्च र दण्डहिनता अन्त गर्नुपर्छ ।