ललितपुर / ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नं.१६ को आयोजना तथा नेपाल हस्तकला महासंघ , ललितपुर उद्योग वाणिज्य संघ लगायतको सहयोगमा ललितपुरमा ३ दिने महिला उद्यमी मेला-२०७८ आईतबार सम्पन्न भयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गत शुक्रबार उद्घाटन गर्नु भएको सो मेला अन्तर्गत नागबहाल, इलिनरी बहाल र कटुबहालमा कपडा सहितका हस्तकलाका लगायतका सामाग्री, नेवारी खानेकुरा, स्थानीय बाजा र चित्र कला विक्री तथा प्रदर्शनीमा राखिएका थिए । स्थानीयबासी लगायतको मेलामा उत्साहजनक उपस्थिति हुनुका साथै नेवारी खानेकुरा तथा कपडा लगायतका हस्तकलाका सामाग्रीको राम्रो विक्री भएको आयोजकको भनाई थियो ।
आइतबार साँझ ललितपुर महानगरपालिकाकी उप-मेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरी सो मेला समापन गरिएको थियो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उप-मेयर सत्यालले ललितपुरमा उत्पादन भएका हस्तकला लगायतका बस्तुहरुमा मेड इन वर्ल्ड क्राफ्ट, ललितपुरको लोगो राखेर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउनु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले
ललितपुरका उद्यमीहरुको हित हुने कार्यमा आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री लगायतका बस्तुको विक्रीको लागि ललितपुर महानगरपालिकाले उत्तरपट्टीको आफ्नो पोखरी छेउमा विक्री केन्द्र निर्माणको लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । उहाँले २०७४ सालमा म ललितपुर महानगरपालिकाको उप-मेयर पदको उम्मेद्वार बनेर मतदाता समक्ष मत माग्दै गर्दा उप-मेयर पदमा विजयी भएमा मैले नेपाल सरकारले आफूलाई पारिश्रमिक स्वरुप प्रदान गरेको रकमकै ५० प्रतिशत सामाजिक संघ/संस्थाहरुलाई प्रदान गर्ने र आफूले यस महानगरपालिकाका महिला दिदीबहिनीहरुको शीर झुक्ने गरी कुनै काम गर्ने छैन भनेर गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभयो । ललितपुर महानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न त्यस कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य र ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्वराज बज्राचार्यले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको उपभोग स्थानीय रुपमा नै गर्नुपर्छ भन्ने सन्देश प्रवाह हुन सकोस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको भन्दै यस्ता मेला पटक-पटक आयोजना हुनु आवश्यक छ तर उद्यमीहरु आफैबाट भने मेला आयोजना गर्न सम्भव नभएकोले त्यसका लागि राज्यका तीनै तहका सरकारको सहयोगको आवश्यकता रहेको बताउनुभयो । मेला आयोजकको तर्फबाट त्यस कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर हस्तकला महासंघ, बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि., नागबहाल, नागबहाल टोल सुधार समिति , इलिनरी टोल सुधार समिति , कटुबहाल टोल सुधार समिति लगायतका विभिन्न संघ/संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।