नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYF) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” २०८१ पसष १ गते काठमाडौंमा सम्पन्न गरेको छ । सो सम्मेलनबाट नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । त्यसै अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।
छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालको बदलिंदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोंच र दृढताले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै मुलुकमा उद्यमीहरुका लागि धेरै अवसर रहेकोले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिनुभयो । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यवसायिक जीवनमा सफलता हासिल हुने उहाँले बताउनुभयो ।
उक्त अवसरमा सोही परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले व्यवसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरुको सामना गर्नुपर्ने अनुभव सुनाउनुहुँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेपनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उहाँको भनाई थियो ।
यसैगरी सो परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको बर्तमान चालक पनि भएको बताउनुभयो । उहाँले ‘व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार आवश्यक रहेको र नेपाल उद्योग परिसंघ त्यसका लागि निरन्तर काम गरिरहेको छ’, भन्नुनुभयो ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYF)का अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरुको अनुभव, भोगाई र सिकाई युवा उद्यमीहरुका लागि महत्वपूर्ण भएकाले यो सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सन् २००५ मा स्थापित नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYF)ले उद्यमीहरुको प्रबर्द्धनका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।





