२२औं संस्करणको विश्वकप फुटबल , २०२२ मा आयोजक एसियाली कतारलाई ० का विरुद्ध २ गोल गरी दक्षिणी अमेरिकी देश इक्वेडरले सुखद शुरुवात ग-यो । आईतबार साझ कतारको बायत रंगशालामा भएको उद्घाटन खेलमा इक्वेडरका एनर भ्यालेन्सियाले खेलको १६ र ३१औं मिनेटमा २ गोल गरेका थिए । विश्वकप फुटबलको लिग चरणको यो पहिलो खेलमा भ्यालेन्सियाले पहिलो गोल पेनाल्टीबाट गरेका थिए भने दोश्रो गोल हेडिङबाट गरेका थिए । खेलको दोश्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरेका थिए तर त्यसलाई गोलको मान्यता भने दिइएन । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गतको उक्त पहिलो खेलमा आयोजक कतारले पहिलो हापको अन्ततिर र दोश्रो हापमा खेलमा गोल गर्न प्रयास गरेपनि त्यो सफल हुन सकेन भने इक्वेडरले पनि २ गोल गरेपछि खेलमा रक्षात्मक खेल खेलेको थियो । उसले पनि दोश्रो हापमा गोल गर्ने प्रयास भने नगरेको हो ।
२२औं संस्करणको विश्वकप फुटबल आयोजनाको जिम्मा पाएको कतारले बिभिन्न आलोचना खेप्तै आएपनि यो विश्वकप आयोजना गरेर यतिबेला संसारको ध्यान आफूतिर आकर्षित गरेको छ । एसिया महादेशको मध्य-पूर्वमा कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो देश बनेको छ । यो विश्वकप फुटबलमा ३२ देशले खेल्दै छन् । ब्राजिल , अर्जेन्टिना , इङ्लयाण्ड , फ्रान्स, जर्मनी र डेनमार्क मध्ये एकले यो विश्वकप जित्न सम्भावना देखिन्छ तर बिगतमा भएका विश्वकप फुटबलको नतिजा हेर्दा विश्वकपमा यही देशले जित्छ भनेर भन्न नसकिने खेल विश्लेषकहरु बताउछन् ।
आज राती विश्वकप फुटबलको लिग चरणका ३ खेल हुने
विश्वकप फुटबल अन्तर्गत आज लिग चरणका ३ खेल हुने छन् । जस अन्तर्गत पहिलो खेल नेपाली समय अनुसार साझ ६:४५ बजे समूह ‘बी मा रहेका’ इङ्ल्याण्ड र इरान बीच हुने छ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्ड र इरान दुबै यो खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने धेरैको अपेक्षा छ ।
यसैगरी नेपाली समय अनुसार आज साँझ ९:४५ बजे समूह ‘ए’ रहेका नेदरल्याण्ड्स र सेनेगल बीच लिगको चरणको खेल हुने छ ।
त्यस्तैगरी लिग चरणको समूह ‘बी’ को अर्को खेल संयुक्त राज्य अमेरिका र वेल्स बीच नेपाली समय अनुसार भरे राती १२:४५ बजे हुने जनाइएको छ ।