पोखरा/ आईतबार विहान ८:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी कलसाइनको जहाज मुस्ताङको थासाङ गाउँपालिका -२, सानुसरेमा आज विहान ८:१० बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरले जनाएको छ । समुद्र सतहबाट १४,५०० फिट उचाईको भीरमा ठोक्किएर दुर्घटना भई उक्त जहाज क्षतविक्षत भएको र त्यसमा सवार चालक , सह-चालक र एयर होस्टेज सहित चालक दलका ३ सदस्यका साथै १३ जना नेपाली , ४ भारतीय र २ जर्मन नागरिकको मृत्यु भएको बताइएको छ । मृतक १३ नेपाली यात्रु मध्ये ७ जना धनुषाको मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका सदस्य रहेको जानकारी प्राप्त भएको छ । मृतक सबैको शरीर क्षतविक्षेद अवस्थामा देखिएको प्रत्यक्षदर्शीको भनाई छ ।
सो जहाज दुर्घटनाको यथार्थ विवरण त आएको छैन तर पूरै बादल लागेको खराब मौसमका कारण जहाज सानो भीरमो ठोक्किएर दुर्घटना भएको आवाज आएको आसपासमा स्थानीयबासीहरुको भनाई छ । समयमा सो जहाज जोमसोम नपुगेपछि जहाजको खोजी शुरु भएको थियो । खराब मौसमका कारण हराएको उक्त जहाज खोजीका लागि आइतबार दिनभर त्यस क्षेत्रमा उडेका हेलिकप्टर साँझ त्यत्तिकै फर्किएका थिए । जहान दुर्घटनाको आवाज सुनेका स्थानीयबासी पनि खराव मौसम र पानी परेकाले त्यस स्थानमा जान नसकेका तर आज बिहान भने जहाजको खोजीमा गएका स्थानीय दुई युवाले दुर्घटनाग्रस्त अवस्थामा भेटेपछि स्थानीय मार्फत प्रहरीलाई खबर गरेका र प्रहरीको आग्रहमा सो दुर्घटनाको फोटो खिचेर प्रहरीलाई पठाएपछि त्यसैलाई आधार मानेर प्रहरी त्यहाँ पुगे भने प्रहरी मार्फत जहाज दुर्घटनाको खबर थाहा पाएपछि फिष्टेल एयरको ९एनएजेआर हेलिकप्टर त्यहाँ पुगेपछि जहाज दुर्घटनाको पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।