आज २७औं जनयुद्ध दिवस मनाउदै मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरु, मधेश प्रदेशमा बिदा

काठमाडौं/ मार्क्सवाद, लेनिनवादी र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने नेकपा (माके),नेकपा (क्रामा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी) लगायतका पार्टी तथा समूहले आज २७औं जनयुद्ध दिवस मनाउने बताएका छन् । ती दलहरुको नेता तथा कार्यकर्ताहरुले यो दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य सहित दीर्घकालीन जनयुद्ध शुरु गरेको दिनको सम्झनामा यी दल तथा समूहले आ-आफ्नै ढंगबाट विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउदै आएका छन् । माओवादी जनयुद्धबाट नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना हुन त सकेन तर त्यही जनयुद्धको राप र ताप २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलनको विकास हुने कारणहरु मध्येको एउटा महत्वपूर्ण कारण बनेको विश्लेषकहरुको भनाई छ । सोही जन-आन्दोलनका कारण नेपालमा केन्द्रिकृत एकात्मक राजतन्त्रात्मक व्यवस्था अन्त भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको थियो ।

२०६२/०६३ को जन-आन्दोलनपछि जब नेकपा (माओवादी) सरकारमा पुग्यो , त्यसपछि त्यस पार्टीमा प्रकाश नेतृत्वको नेकपा (एकताकेन्द्र मसाल) ले एकता ग-यो र एकीकृत पार्टीको नाम एनेकपा (माओवादी) रहन पुग्यो । त्यसमा विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरु गोलबन्द हुदै गए र २०६४ सालको संविधान सभा निर्वाचनमा त्यो पार्टीले सबैभन्दा बढी सीट जितेर संविधानमा सभामा सबैभन्दा ठूलो दल बनेर सरकारमा पुगेको थियो । सरकारमा पुगेपछि त्यो दलले लिएको नीति, कार्यक्रम र कार्यदिशाका कारण त्यस पार्टी भित्र अन्तर्विरोध चर्किदै गयो र अन्तत: त्यो पार्टी विभाजन भएर नेकपा (माओवादी) बन्यो । नेकपा (माओवादी) पनि लामो समय एकीकृत भइरहनु सकेन र अन्तत: त्यो पार्टी पनि बिभाजन भएर विप्लवको नेतृत्वमा नेकपा (माओवादी) र किरणको नेतृत्वमा नेकपा (क्रामा) बन्यो । त्यसपछि पनि मातृका यादव र मणि थापाको नेतृत्वमा छुट्टाछुट्टे पार्टी तथा समूह बनेका थिए तर पछि एनेकपा (माओवादी), किरण नेतृत्वको नेकपा (क्रामा)बाट बिद्रोह गरेका बादल नेतृत्वको नेकपा (क्रामा) तथा मात‌का यादव र मणि थापाको नेतृत्वको पार्टी तथा समूह मिलेर नेकपा (माके) बनेको थियो । यसले यथास्थितिबाटै समाजबादमा जाने नीति तय गरेको धेरैको बुझाई छ । यता विप्लव नेतृत्वको नेकपा(माओवादी)ले आफ्नो नाम बदलेर नेपाल कम्युनिष्ट पार्टी राखेको छ । उसले वैज्ञानिक समाजवादमा जाने नीति लिएको छ तर वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमत संग्रहको बाटो अगाडि सारेको छ । त्यस्तै आहुति नेतृत्वको वैज्ञानिक कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढा नेतृत्वको नेकपा (माकेस) ले पनि वैज्ञानिक समाजबादमि जाने नीति तय गरेको बताउदै आएका छन् । किरण नेतृत्वको नेकपा(क्रामा)ले भने नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने नीति लिएको छ

उता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, किरण नेतृत्वको नेकपा (क्रामा)र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले छलफलको माध्यमबाट नयाँ जनवाद र वैज्ञानिक समाजवाद मध्ये अब कहाँ जाने भन्ने विवाद समाधान गर्दै संसदबादको अन्त गरी अगाडि जाने उद्देश्यले गत वर्ष ‘रणनीतिक मोर्चा’ निर्माण गरेका थिए तर त्यो मोर्चा यतिबेला भने गतिशील हुन सकेको छैन । यो मोर्चा गतिशील भएर आफ्नो उद्देश्य अनुरुप अगाडि बढ्नु पर्ने आवाज उठिरहेको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता रामबहादुर भण्डारी भने संसदवादको अन्त गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापनाको लागि रणनीतिक मोर्चा गतिशील हुनुपर्ने बताउनुहुन्छ

त्यस्तैगरी यी ४ दल सहित नेकपा (मसाल), नेकपा (माकेस) तथा देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर एमसीसी (MCC) सम्झौता खारेजीको निम्ति संघर्ष गरिरहेका छन् ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

पहिलो पटक नेकपा (माके) सहभागी भएको मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

सातवटै प्रदेश सरकारमा नेकपा (माके) सहभागी भएपनि मधेश प्रदेश बाहेक अरु प्रदेशमा भने सार्वजनिक बिदा दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *