आफ्नै भवनबाट सञ्चालन हुन थालेसँगै आधारशिला साकोसको शेयर सदस्य र कारोवारमा उल्लेख्य बृद्धि

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथलीमा रहेको आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. आफ्नै भवनबाट सञ्चालन हुन थालेसँगै त्यस संस्थाको शेयर सदस्य, शेयर पूँजी र कारोवार उल्लेख्य बृद्धि भएको देखिएको छ । टीकाथलीमा ५ आना जग्गामा निर्मित साँढे दुई तले आफ्नै भवनबाट गत साउन १७ गतेदेखि सो संस्था सञ्चालन हुदै आएको छ ‌।

सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रबहादुर श्रेष्ठले ‘२०७८ असार मसान्तसम्म हाम्रो यस संस्थामा शेयर पूँजी रु.२ करोड २० लाख ४५ हजार ७ सय , बचत संकलन रु.२७ करोड ४६ लाख ४९ हजार ८ सय ७२, कर्जा लगानी रु.२४ करोड ८६ लाख ५१ हजार ७ सय २ र कूल कारोवार रु.३३ करोड ४ लाख ५ हजार ४ सय ५० रहेको थियो भने यसबेला शेयर सदस्य संख्या १,१८० जना , शेयर पूँजी रु.२ करोड ७८ लाख , बचत संकलन रु.२९ करोड १७ लाख ८९ हजार , कर्जा लगानी रु.२७ करोड ५० लाख ९५ हजार र कूल कारोवार रु.३८ करोड ४३ हजार रहेको छ’, भन्नुभएको छ । अलगपथ सँग कुरा गर्दै उहाँले महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका वडा नं.१३,१४ र १५ मा कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाले कोरोना महामारीको विषम परिस्थितिका बीच पनि आर्थिक वर्ष २०७७/०७८ मा आर्जन गरेको मुनाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको बताउनुभयो ।

उक्त संस्थाको गत असोज २ गते ११औं वार्षिक साधारण सभा तथा कार्यालय भवनको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठले उद्घाटन गर्नु भएको सो साधारण सभाले शेयर सदस्यहरु बीच छलफल गरी सोही संस्थाका अध्यक्ष कपिल के.सी.ले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष डोरबहादुर कार्कीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक समिर शाहले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

Leave a Reply