काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस उक्त संस्थाका परिवारका सदस्यहरु बीच शुभकामना आदान प्रदान गरी आज मनाइएको छ । आफ्नो १४औं स्थापना दिवसको अवसरमा उक्त संस्थाको नागार्जुन नगरपालिका-१, रानीवनमा निक्षेप संकलन केन्द्रको आज औपचारिक उद्घाटन गरियो । गत माघदेखि सञ्चालनमा आएको उक्त संकलन केन्द्रको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । यो संकलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले उपासना महिला साकोसले आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउदै समाजमा आफ्नो उपस्थित बलियो बनाउदै लगेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यो कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति भएको देख्ता खुशी लागेको बताउदै जनप्रतिनिधिहरुले सहकारीको अपनत्व लिनु पर्ने खाँचो औंल्याउनुभयो । सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं.१ का वडाध्यक्ष रामेश्वर लामाले सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिमा रहनेले हाम्रो स्कूल राम्रो छ भन्ने तर त्यहाँ आफ्ना छोराछोरी नपढाउने र सहकारीका सदस्यहरुले पनि मुखले आफ्नो संस्था राम्रो छ भन्ने तर पैसा राख्न सहकारीमा नभई बैंक तथा अन्य वित्तीय संस्थामा जाने गरेको भन्दै त्यस्तो गर्नुको सट्टा सामुदायिक विद्यालय र कलेजलाई गुणस्तरीय बनाउन शिक्षक र त्यहाँको व्यवस्थापन समितिमा रहनेले त्यही आफ्ना छोराछोरी पढाउनु पर्ने र सहकारी संस्थालाई बलियो बनाउन सहकारी संस्थाका सदस्यहरुले सानोदेखि ठूलोसम्मका सबैखाले रकम बैंक तथा अन्य वित्तीय संस्थामा नभई सहकारी संस्थामा नै जम्मा गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै जिल्ल्ला सहकारी संघ लिमिटेड, काठमाडौंका महासचिव मनोज भण्डारीले उपासना महिला साकोसले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । सहकारी देशको राष्ट्रिय अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा रहेकोले राज्यले यो क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिनु पर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै उक्त संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले यस संस्थाका जेष्ठ सदस्य ज्यूहरुको आशिर्वाद , शेयर सदस्यहरुको विश्वास र भरोसा तथा कर्मचारीहरुको मेहनत र योगदान तथा समुदायको साथ र सहयोगले रु ५ लाख शेयर पूँजीबाट स्थापना भएको हाम्रो यो उपसना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार रु.१५ करोड पुगेको भन्दै त्यसका लागि सबैमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसरी सबैबाट साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । त्यसै संस्थाकी कर्मचारी टासी लामाले सञ्चालन र उक्त संस्थाको रानीवनमा रहेको निक्षेप संकलन केन्द्रकी संयोजक आरती चित्रकारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा विवाहको महत्व बारेमा उद्यमशील प्रशिक्षक रचना पण्डित र एसआईपी SIP) र डिम्याटको बारेमा सिंह ग्रुपका अरनिको सिंहले प्रवचन दिनु भएको थियो । सैलवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, डल्लु, काठमाडौंका अध्यक्ष विक्रम श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको त्यस कार्यक्रममा सो संस्थामा नियम बचतकर्ता दम्पतीहरु सुवर्ण लामा र ठुलीमाया लामा , शम्भु अधिकारी र प्रमिला अधिकारी तथा सञ्जिव कोनाजु र मोनिका धिताललाई नियमित दम्पती बचतकर्ता सम्मानबाट सम्मानित गरियो । त्यसैगरी सो संस्थाको सञ्चालक समितिका उत्कृष्ट सञ्चालक सम्मानबाट सोही संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष तुल्सा खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रशिक्षक रचना पण्डित , सिंह ग्रुपका अरनिको सिंह, नागार्जुन नगर तेक्वान्दो विकास समितिका अध्यक्ष राजेन्द्र डंगोल र अलगपथका सञ्चालक अर्जुन कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं.१ का सबै जनप्रतिनिधि , सोही नगरपालिका वडा नं. ५ का जनप्रतिनिधि केशव थापा , विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य , शेयर सदस्यहरु एवं कर्मचायीहरु लगायतको उपस्थिति रहेको थियो ।
बचत तथा ऋण कारोवारका साथै मोवाइल बैङ्किङ तथा आईएमई रेमिट (IME Remit ) र प्रभु रेमिट (Prabhu Remit) सेवा सञ्चालन गरिरहेको त्यस संस्थाले सिंह ग्रुपसँग सहकार्य गरी एसआईपी (SIP), डिम्याट र विल बुक नवीकरण सेवा थप सञ्चालन गर्ने तयारी गरिरहेको सोही संस्थाकी अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले ‘काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका , चन्द्रगिरि नगरपालिका र तारकेश्वर नगरपालिकामा हाम्रो यो संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रक्रिया अगाडि बढिरहेको छ’, भन्नुभयो । उक्त संस्थाको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा निक्षेप संकलन केन्द्र सञ्चालनमा छन् ।
कार्यक्रमको झलक