काठमाडौं/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका ११ वटै उप-महानगरपालिकाको नतिजा घोषणा भइसकेको छ । यसमध्ये नेकपा (एमाले) , नेपाली कांग्रेसले ३/३ , नेकपा (माके) र नेकपा (एस) १/१ र ३ स्वतन्त्र उम्मेद्वारले उप-महानगरपालिका प्रमुख जितेका छन् । नेकपा (एमाले) ले सत्तागठबन्धनका उमेद्वारलाई पराजित गरी दाङको घोराही उप-महानगरपालिका र तुलसीपुर उप-महानगरपालिकामा पुन: आफ्नो पकड कायम राखेको छ भने उसले यस अगाडि नेपाली कांग्रेसले जितेको बाराको कलैया उप-महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारलाई पराजित गरी विजयी हासिल गर्न सफल भएको छ । यसैगरी उसले इटहरी उप-महानगरपालिका , जितपुर सिमरा उप-महानगरपालिका , बुटवल उप-महानगरपालिका र धनगढी उप-महानगरपालिकाको उप-मेयर जित्न सफल भयो तर उसले २०७४ सालको निर्वाचंमा आफूले जितेको इटहरी उप-महानगरपालिकाको मेयर तथा धरान उप-महानगरपालिका , जितपुर सिमरा उप-महानगरपालिका र हेटौडा उप-महानगरपालिकाको उप-मेयर र गुमाएको छ । यसपटक जितपुर सिमरा उप-महानगरपालिकाको मेयर र धरान उप-महानगरपालिकाको उप-मेयर नेकपा (माके)ले जितेको छ भने हेटौंडा उप-महानगरपालिकाको प्रमुख नेकपा (एस)ले जितेको छ त्यस्तै नेपालगञ्ज उप-महानगरपालिकाको उप-मेयर जसपाले जितेको छ ।
यता नेपाली कांग्रेसले यस अगाडि राप्रपाले जितेको नेपालगञ्ज उप-महानगरपालिकाको मेयर तथा नेकपा (एमाले)ले जितेको बुटवल उप-महानगरपालिका र इटहरी उप-महानगरपालिकाको मेयर र जनकपुरधाम उप-महानगरपालिका र हेटौंडा उप-महानगरपालिकाको उप-मेयर जितेको छ भने उसले यस अगाडि आफूले जितेको धनगढी उप-महानगरपालिकाको मेयर र कलैया उप-महानगरपालिकाको मेयर र उप-मेयर तथा र यस अगाडिको उप-निर्वाचनमा मेयर जितेको धरान उप-महानगरपालिकाको मेयर गुमाएको छ । यसपटक धनगढी , जनकपुरधाम र धरान उप-महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेद्वारले जितेका छन् तर जनकपुर उप-महानगरपालिकाका नवनिर्वाचित मेयर भने नेपाली कांग्रेसका उम्मेद्वारको विजय जुलुसमा सहभागी हुनुभएको खबर छ ।
४ उप-महानगरपालिकाको मेयर र उप-मेयर पुरुष
११ वटा उप-महानगरपालिका मध्ये धरान , जनकपुरधाम , जितपुर सिमरा र नेपालगञ्ज उप-महानगरपालिकाको मेयर र उप-मेयर दुबैमा पुरुष उम्मेद्वार विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । पालिकाको प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष मध्यको १ पदमा महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।
(कान्तिपुर दैनिकको सहयोगमा )