एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णयको जानकारी अमेरिकालाई पठाइयो : परराष्ट्र मन्त्री खड्का

काठमाडौं/ परराष्ट्र मन्त्री डा.नारायण खड्काले मिति २०७९ असार ६ गते नेपाल सरकार, मन्त्रीपरिषदले संयुक्त राज्य अमेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (SPP)मा सहभागी नहुने भनी गरेको निर्णयको जानकारी यही साउन ९ गते कुटनीतिक माध्यमबाट संयुक्त राज्य अमेरिकी सरकारलाई पठाएको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिदै उहाँले एसपीपी मा नेपाल सहभागी नहुने नेपाल सरकारको निर्णयको अध्ययन गर्नु पर्ने भएकोले त्यसको जानकारी संयुक्त राज्य अमेरिकालाई पठाउन केही ढिलो भएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले नेपाल सरकार असम्लग्न परराष्ट्र नीति , पञ्चशीलको सिद्धान्त , संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गरी स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

महिना दिन बित्ता पनि परराष्ट्र मन्त्रालयले नेपाल सरकार , मन्त्रीपरिषदले एसपीपीमा नेपाल सहभागी नहुने भनी गरेको निर्णयको जानकारी संयुक्त राज्य अमेरिकी सरकारलाई नपाठाएको भनी परराष्ट्र मन्त्रालयका अधिकारीको अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक भएपछि नेकपा (एमाले)का सांसद डा.भीम रावल ,नेकपा (माके)का प्रमुख सचेतक देव गुरुङले यस अघिका प्रतिनिधि सभाको बैठकमा त्यस बारेमा परराष्ट्र मन्त्रीलाई सदनमा आएर जवाफ दिन सभामुखलाई रुलिङ गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विषयको बारे जवाफ दिन परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई रुलिङ गर्नु भएको थियो । यस्तै परराष्ट्र मन्त्रालयको उक्त कार्यको नागरिकले विरोध गरेका थिए ।

संयुक्त राज्य आमेरिकाको राज्य साझेदारी कार्यक्रम (SPP) सैन्य रणनीतिको अंग रहेको सार्वजनिक भएपछि त्यसको नेपालमा चौतर्फी विरोध भएको थियो , जसका कारण नेपाल सरकार, मन्त्रीपरिषदले गत असार ६ गते त्यसमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *