सहदेव बञ्जाराको अध्यक्षतामा सञ्चालक समिति र कृष्णबहादुर महतको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरि ललितपुर महानगरपालिका-१५, सातदोबाटोमा आफ्नै भवनमा केन्द्रीय कार्यालय र गोदाबारी नगरपालिका-१०, प्याङ्गाउँमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा २०८० पुस २१ गते शनिबार ललितपुर पार्टी प्यालेस सातदोबाटोमा सफलतापूर्वक सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा विष्णु दाहाल, सचिवमा रेवतीप्रसाद घिमिरे , कोषाध्यक्षमा प्रतिभा प्रधान र सदस्यमा कुषा पराजुली , सुजाता के.सी.,परशुराम सापकोटा, हरिप्रसाद दाहाल ,पार्वती खत्री के.सी.,रामशरण घिमिरे र राजन खनाल तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा गणेशबहादुर आचार्य र ऋषिकेश घिमिरे चयन हुनुभएको छ ।
करिब १,७०० शेयर सदस्यहरुको उपस्थिति रहेको साधारण सभाको त्यसै संस्थाका संंस्थापक उपाध्यक्ष सुभाषचन्द्र राजभण्डारीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सोही संंस्थाका अध्यक्ष कृष्णबहादुर महतले अध्यक्षता र सचिव सहदेव बञ्जाराले सञ्चालन गर्नु भएको साधारण सभामा शुभकामना मन्तब्य व्यक्त गर्दै पर्यटन केन्द्रीय सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले ‘कर्मणा साकोसका सबै सूचकाङ्क राम्रो छ र यसको जगेडा कोषमा रु.२,८७,०८,६१७ रहेको छ, जो संस्थाको शेयर पूँजीको ५३ प्रतिशत र कुल सम्पत्तिको ४.७७ प्रतिशत हो, यसले गर्दा यो संंस्था बलियो अवस्थामा रहेकोले यसका शेयर सदस्यहरुलाई यस संस्थामा निर्धक्क भएर कारोबार गर्न अनुरोध गर्दछु’, भन्नुभयो । सहकारी क्षेत्रले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै उहाँले सहकारी क्षेत्रको अवस्था राम्रो हुँदै गा’को छ , बिग्रि्ने जति सहकारी बिग्रिसके, समस्यामा पर्ने जति सहकारी समस्यामा परी सके , अब सहकारी क्षेत्रलाई राम्रो बनाउन राज्य र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले खराब नियतले सहकारीको पैसा अपचलन गर्नेहरुलाई राज्यले कडा कारबाही गर्नु पर्ने बताउनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संंघ लि., ललितपुरका अध्यक्ष केदार गोरखालीले कर्मणा साकोसले गरिरहेको प्रगति र यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको वित्तीय सेवाप्रति प्रशन्नता व्यक्त गर्नुभयो । केही व्यापारिक उद्देश्य बोकेका सहकारी संस्थामा उत्पन्न समस्याले गर्दा सिङ्गो सहकारी क्षेत्रले बदनाम सहनु परेको भन्दै उहाँले सदस्य केन्द्रित समुदायमा आधारित सहकारी संस्थाहरुको अवस्था भने राम्रो रहेको बताउनुभयो ।
साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि. लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेती र प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि., लगनखेल, ललितपुरका अध्यक्ष रेवतीप्रसाद दाहालले सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संंस्थाका अध्यक्ष महतले २३ वर्षदेखि शेयर सदस्य ज्यूहरुले यो संस्थाको प्रगतिको लागि पु-याउदै आएको योगदान तथा हाल सहकारी क्षेत्रमा देखिएका समस्या र नकारात्मक समाचारमा मात्र भर नपरेर शेयर सदस्य ज्यूहरुले हाम्रो यस संस्थामा विश्वासका साथ नियमित कारोबार गरिरहनुभएको र संस्थाका कर्मचारीहरुको इमान्दारिता र मेहनतले गर्दा हाम्रो यो संस्था सहकारी क्षेत्रमा छुट्टै परिचय बनाएर अगाडि बड्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमा जीवनस्तर सवल बनाउने धेयका साथ अगाडि बढिरहेको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७९/०८० मा १,१६१ पुरुष र ९९५ महिला गरि २,१५६ जना शेयर सदस्यको ६०,१३,१४,१८९ रुपैया कुल सम्पत्ति रहेको बताउनुभयो । उहाँले संस्थाको गतिविधि, वित्तीय अवस्था र भावी नीति तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।
साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष विष्णु दाहालले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक श्यामप्रसाद घिमिरेले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट ती प्रतिवेदन सहित १० वटा प्रस्ताव पाारित गरियो ।
उक्त संस्थाका व्यवस्थापक रमेश घिमिरेले समन्वय गर्नु भएको साधाराण सभामा सोही संस्थाका ७० वर्ष उमेर पुुगेका २८ जना जेष्ठ शेयर सदस्यहरुलाई पुरस्कार र प्रशंसा-पत्र प्रदान गरि सम्मान गरियो । यस्तै साधारण सभामा त्यस संंस्थामा उत्कृष्ट र नियमित कारोबार गरेर योगदान पु-याएका २१ जना शेयर सदस्यलाई पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरी साधारण सभामा लामो समयको सेवा अवधि सहित उत्कृष्ट योगदान पु-याए वापत सोही संस्थाकी बरिष्ठ लेखापाल मैैया महर्जनलाई कदर-पत्र सहित पुरस्कार प्रदान गरि सम्मान गरियो ।
साधारण सभामा उक्त संस्थाका पूर्व सञ्चालक नवराज महत संयोजक तथा शेयर सदस्यद्वय तेजप्रसाद बजगाईँ र सचितानन्द घिमिरे सदस्य रहेको निर्वाचन उप-समितिले सो संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाइ ज्ञापन गरि पद तथा गोपनियताको सपथग्रहण गराएको थियो ।





