काठमाडौं/ काठमाडौंको बागबजारमा रहेको कश्मिरा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा यही कार्तिक १३ गते शनिबार बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले राष्ट्रिय सहकारी बैंक र जिल्ला सहकारी संघ लि.,काठमाडौंले आफ्ना सदस्य संस्थाहरुलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल कश्मिरा साकोसको उत्तरोतर प्रगतिको कामना गर्दछु’, गर्नुभयो ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा , काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष निरञ्जन सेढाई, राष्ट्रिय सहकारी बैंक लि.का न्युरोड शाखा र पुतलीसडक शाखाका प्रमुखद्वय केदारनाथ उप्रेती र अरुणा तिवारी, काभ्रेस्थली कृषि सहकारी संस्था लि.का अध्यक्ष रामसुदन भण्डारी, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.मीनभवनका व्यवस्थापक ओम बस्नेत र विधुतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव भोजराज ढुंगाना लगायतको आतिथ्यता रहेको त्यस साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष पाण्डेले शेयर सदस्य महानुभावहरुको साथ र सहयोगले हाम्रो यो संस्था कोभिड-१९ को महामारीको विषम परिस्थितिमा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको छ भन्दै सहयोगको लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले ‘समाजमा छरिएर रहेको स-सानो पूँजीलाई एकत्रित गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले २०६४ चैत २० गते डिभिजन सहकारी कार्यालय , काठमाडौंमा विधिवत रुपमा दर्ता भई सञ्चालनमाआएको यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै राम्रो सँग अगाडि बढिरहेको छ र यो संस्था यहाँसम्म आईपुग्नमा शेयर सदस्य महानुभावहरु, पूर्व पदाधिकारी र कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको छ’, भन्नुभयो । हाम्रो यस संस्थामा २०७८ असार मसान्तसम्म शेयर पूँजी रु.२,१४,०४,१०० निक्षेप रु.१९,२६,९४,९३३.७३, कर्जा लगानी रु.३०,३६,४२,१९६/८६ र कूल सम्पत्ति रु ३१,९५,५०,१७६.८६ रहेको उहाँको भनाई थियो ।
त्यसै अवसरमा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक डिल्लीराज धितालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाले आगामी दिनमा आफ्ना शेयर सदस्यहरुलाई प्रविधि मैत्री बनाउनको लागि अनलाईन सेवा मार्फत एस.एम.एस बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने योजना बनाएको बताउनुभयो ।
उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य सुदर्शन अर्यालले सञ्चालन र व्यवस्थापक जयराम तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो साधारण सभामा त्यसै संस्थाका अध्यक्ष पाण्डेले राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष तामाङलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।